बुधबार, चैत १८, २०८२

१२ वर्षीया प्रदिप्ताको ‘डेड अर अलाइभ’ उपन्यास सार्वजनिक

मेरोन्यूज २०८२ जेठ १२ गते १७:२९

काठमाडौं । १२ वर्षीया प्रदिप्ता बडूले अङ्ग्रेजी भाषामा लेखेको ‘डेड अर अलाइभ’ नामक उपन्यास सार्वजनिक भएको छ। भाषा आयोगका पूर्वअध्यक्ष प्राडा लवदेव अवस्थीले एक कार्यक्रमबीच उक्त कृतिको विमोचन गरेका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

पाठशाला फाउन्डेसन नेपालमा कक्षा ८ मा अध्ययनरत प्रदिप्ताको उक्त उपन्यास आवरण प्रकासनले प्रकाशित गरेको हो। सो उपन्यास लेखिका बडूले कोभिड–१९ को समयमा भोगेको अनुभूतिमा आधारित सचित्र अध्याय पुस्तक हो। सो अवसरमा प्राडा अवस्थीले कोभिड–१९ को बेला बाल मस्तिष्कले भोगेको कटु अनुभवलाई प्रदिप्ताले कलात्मक तरिकाले प्रस्तुत गरेको र उनमा प्रतिभाको प्रवाह प्रचुर रहेको बताए।

बाल साहित्य समाजका अध्यक्ष विजयराज आचार्यले देशका कुनाकुनामा रहेका बाल प्रतिभाको खोजी गरी अगाडि ल्याउनुपर्नेमा जोड दिए। बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष अनन्त वाग्लेले उपन्यासमा साहसिक यात्रा, मानवीय समवेदना र स्वैरकल्पनाको सुन्दर मिश्रण रहेको बताए। आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले प्रदिप्तामा अद्वितीय लेखन कलाको क्षमता रहेको विचार राख्दै उनलाई प्रकाशकका तर्फबाट प्रशंसापत्र प्रदान गरे।

क्याप्टेन वेद उप्रेतीले प्रदिप्ता सुन्दर सुदूरपश्चिमबाट फक्रेकी बालप्रतिभा भएको बताए। कृतिकारका पिता कैलाश बडूले छोरी सानैदेखि भावुक स्वभावकी र आँटेको कुरा गरेरै छाड्ने आँटिली भएको बताए। पाठशाला नेपाल फाउन्डेसनका संस्थापक इश्वरमणि अधिकारीले आफ्नो विद्यालयमा प्रदिप्ताजस्ता बाल प्रतिभा हुनुले विद्यालयको गरिमा बढाएको विचार राखे।

साहित्यकार जया बुढाथोकीले उपन्यास निकै पठनीय भएको बताइन्। विद्यालयका प्रधानाध्यापक विश्वनाथ कँडेलले प्रदिप्ता अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताए।

उपन्यासकार प्रदिप्ताले आफ्नो लेखकीय अनुभूति सुनाउँदै पहिलो कृति बुबा कैलाशको जन्मदिनमै उपहार दिन पाएकामा गौरवको अनुभूति मिलेको बताइन्। साहित्यकार एवं कृतिकारकी हजुरआमा हेमन्ती जोशीले नातिनीले आफ्नै पदचिन्ह पच्छ्याउँदै साहित्यिक यात्रा सुरु गरेकामा खुशी व्यक्त गरिन्। २० खण्डमा विभक्त उक्त उपन्यासमा अक्रिनको कलाकारिता रहेको छ।

प्रतिक्रिया