बिहीबार, फागुन २१, २०८२

म्याग्देका विद्यालयमा दिवा खाजा कार्यक्रम लागू

मेरोन्यूज २०८२ जेठ १५ गते १४:०६

तनहुँ। म्याग्दे गाउँपालिकाका २२ वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागु गरेपछि बालबालिका नियमित विद्यालय जान थालेका छन्। संघीय सरकारको आर्थिक सहयोगमा बाल विकास केन्द्रदेखि कक्षा पाँचसम्मका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेपछि विद्यालय जानेको संख्या बढेको हो।

Advertisement
nepal life insurencenepal life insurence

दिवा खाजामा पौष्टिक आहारसहितको व्यवस्था गरिएकाले कुपोषण हुने बालबालिकाको संख्यामा कमी आएको म्याग्दे शिक्षा शाखाका अधिकृत विष्णुखत्री क्षेत्रीले जानकारी दिए। उनले भने,‘विद्यालयमा खाजाको व्यवस्था गरिएपछि विद्यालय नजाने र गएका पनि बीचमै छाडेर हिड्ने प्रवृत्ति पनि रोकिएको छ।’

उनका अनुसार गाउँपालिकाभित्र रहेका २२ वटा विद्यालयमा एक हजार ७२८ जना बालबालिका दिवा खाजा कार्यक्रममा समावेश भएका छन्। चालु आर्थिक वर्षका लागि दैनिक रु १५ का दरले एक सय ८० दिनका लागि ५० लाख ८७ हजार खर्च हुने अनुमान गरिएको शिक्षा अधिकृत क्षेत्रीले बताए। उनका अनुसार म्याग्दे–२ स्थित राधा मावि र वडा नं ४ स्थित मिन माविले अन्य विद्यालय तुलनामा कम खर्चमा पनि गुणस्तरीय खाजा खुवाउन सकिन्छ भन्ने सन्देश दिएको छ।

उनले भने,‘धेरै विद्यार्थी रहेका ती दुई विद्यालयले थोरै बजेटमा पनि गुणस्तरीय खाजा खुवाउन सकिन्छ भन्ने उदाहरण दिएका छन् ती विद्यालयको गतिविधि र योजना अन्यले पनि सिक्नुपर्ने आवश्यक छ।’

चालु आर्थिक वर्षमा जिल्लाका दुई वटा विद्यालय गाभिएका म्याग्दे शिक्षा शाखाले जनाएको छ। म्याग्दे-७ स्थित बेदकालिका आधारभूत र म्याग्दे-४ मा रहेको जनप्रकाश आधारभूत विद्यालय विद्यार्थी संख्या शून्य भएपछि गाभिएको हो।

बेदकालिकालाई सोही वडास्थित मिलीजुली आधारभूत विद्यालयमा र जनप्रकाशलाई मिन माध्यमिक विद्यालयमा गाभिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। उनका अनुसार पालिकाभित्र मावि तह छ, कक्षा १-८ सम्म चार र कक्षा १-५ सम्म १२ गरी २२ विद्यालय छन्।

प्रतिक्रिया