बजेटमा समेटिएका विषयवस्तुलाई निजी क्षेत्रको स्वागत, बजेट विगतको निरन्तरतामै सीमितः प्रमुख प्रतिपक्ष

काठमाडौं । निजी क्षेत्रले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा समेटिएका विषयवस्तुलाई स्वागत गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा महाङ्सघले दिएका धेरै सुझाव समेटिएको बताए । उनले भने, “निजी क्षेत्रलाई प्रोत्साहन गर्ने ढङ्गबाट बजेट आएको छ, महासङ्घले लगानी प्रवद्र्धन, खनिज निकासीका सम्बन्धमा दिएका सुझावका धेरै बुँदा समावेश भएका छन्, लगानी बोर्डलाई शक्तिशाली बनाउन खोजिएको छ।”
नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आफ्नो संस्थाले दिएका सुझाव बजेटमा समेटिएको प्रतिक्रिया दिए। उनले भने, “यो बजेटलाई महत्वकाङ्क्षी रुपमै लिएको छु । निजी क्षेत्रले दिएका धेरै सुझाव र माग बजेटमा परेका छन् । अहिलेको विषयम परिस्थितिमा स्रोत बाँडफाँट प्रणाली राम्रो छ । राजस्व सङ्कलनको प्रक्षेपण पनि ठिकैछ ।”
नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टङ्कप्रसाद पोखरलले मुलुकको अर्थतन्त्रको दवावकाबीचमा ल्याइएको बजेटमा निजी क्षेत्रका राय, सुझाव र परामर्शलाई अनुसरण गरिएको प्रतिक्रिया दिए । उनले भने, “निजी क्षेत्रलाई उत्साह दिन खोजिएको पाइएको छ, सरसर्ती हेर्दा बजेट सकारात्मक दिशातर्फ उन्मुख छ । उद्यमशीलतालाई जोड दिन खोजिएको छ ।”
चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्राले निजी क्षेत्रले उठाएका धेरै कुरा समेटिएको र राम्रो बजेट आएको बताए । “नेपालीलाई विदेशमा लगानी गर्न पाउने बाटो खुलेको छ, हामीले यसलाई बारम्बार उठाउँदै आएका थियौँ”, उनले भने ।
चेम्बरका पूर्वअध्यक्ष राजेन्द्र मल्लले बजेटले राजस्व सङ्कलनमा कठिन देखिएको भए पनि समग्रमा आइटी क्षेत्रलाई समेटिएर आएको बजेट राम्रो रहेको प्रतिक्रिया दिए ।
बजेट विगतको निरन्तरतामै सीमितः प्रमुख प्रतिपक्ष
प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले बजेट विगतको एउटा निरन्तरताका रुपमा मात्र सीमित रहेको प्रतिक्रिया दिए।
“निरन्तरको प्रक्रियाभन्दा कुनै गुणात्मक परिवर्तन छैन । निजी क्षेत्रका माग केही हदसम्म सम्बोधन भएको भन्ने आएको छ, त्यो सकारात्मक छ”, उनले भने, “स्रोतका हिसावले भन्ने हो भने राजस्वको आम्दानी र खर्चको अवस्था हेर्दा दयनीय अवस्था छ ।
निरन्तरतामा अहिलेको अर्थ व्यवस्था चल्न नसक्ने जनाउँदै पूर्वअर्थमन्त्री शर्माले त्यसका लागि अर्थतन्त्रको ‘मोडालिटी’ नै बदलेर उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्ने बताए । “अहिले त्यसमा जोड दिएको छैन । भन्सार र विप्रेषणमा होइन, आफ्नो उत्पादनमा निर्भर भएर देश चल्ने अवस्था नगर्दासम्म विकासले गुणात्मक फड्को मार्न सक्दैन”, उनले भने ।
जनजीविकाका सवाललाई प्रस्तुत बजेटले सम्बोधन नगरेको उल्लेख गर्दै उनले स्वास्थ्य, शिक्षा, रोजगारी यस बजेटमा ठोस् रुपमा नसमेटिएको प्रतिक्रिया दिए ।प्रतिनिधिसभा, अर्थसमिति सभापति सन्तोष चालिसेले भने बजेट उत्कृष्ट आएको प्रतिक्रिया दिए । “बजेट कार्यान्वयन कस्तो हुन्छ भन्नेमा सबैको चासो छ, समग्रमा कृषि र पर्यापर्यटन, ऊर्जालाई प्राथमिकतामा राखेर आएको बजेट युवा लक्षित छ । स्वास्थ्य क्षेत्र, रसायनिक मल, टनेलयातायात लागि समयसीमा तोकेर आएको बजेट राम्रो छ”, उनले भने ।
प्रतिक्रिया