सामुदायिक विद्यालयलाई सशक्त बनाउनुपर्ने

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा समुन्नत राष्ट्र निर्माणका लागि महत्वपूर्ण आधार भएकाले सामुदायिक विद्यालयलाई थप सशक्त बनाउन सबै तहका सरकार, नीति निर्माता, स्थानीय समुदाय र सरोकारवाला बिच समन्वय एवम् सहकार्य आवश्यक रहेको बताएकी छिन् ।
काठमाडौँको टङ्गाल माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव (हीरक जयन्ती) तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले कुनै पनि राष्ट्रको प्रगति र समृद्धि त्यस राष्ट्रको शिक्षाको स्तरसँग प्रत्यक्ष रूपमा गाँसिएकाले राज्यका सबै निकायले त्यसतर्फ ध्यान दिनुपर्ने बताइन् ।
“हाम्रो शिक्षा प्रणालीको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गर्ने शिक्षित व्यक्तिको उत्पादनमा सीमित रहनु हुँदैन । बरु परिवार, समाज र राष्ट्रप्रतिको गहिरो उत्तरदायित्व बोध भएका सक्षम, इमानदार, अनुशासित र जिम्मेवार नागरिक तयार पार्ने हुनुपर्दछ । प्राप्त अवसरको प्रभावकारी उपयोग गर्न र चुनौतीको सामना गर्न बालबालिकालाई गुणस्तरीय शिक्षाको माध्यमबाट अन्तरराष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्न सक्ने योग्य र सक्षम बनाउनु आवश्यक छ,” पूर्वराष्ट्रपति भण्डारीले बताइन् ।
सूचना तथा सञ्चार प्रविधि र यातायातको तीव्र विकासका कारण आजको विश्व एउटा साझा गाउँ जस्तै बन्न पुगेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्,“ विश्वव्यापीकरणको यस प्रक्रियाले हाम्रा लागि एकातर्फ विभिन्न अवसरका ढोका खोलेको छ भने अर्कातर्फ केही चुनौती पनि थपिएका छन् । यसका लागि, हामीले हाम्रो शैक्षिक नीति, पाठ्यक्रम, शिक्षण पद्धति तथा समग्र शैक्षिक प्रणालीमा युगानुकूल सुधार गर्नु अपरिहार्य भइसकेको छ ।”
लगानी बढाएर शिक्षाको पवित्र मन्दिर विद्यालय तथा शैक्षिक केन्द्रको पठन पाठनलाई कतैबाट कुनै पनि बहानामा अवरुद्ध पार्न नहुने पूर्वराष्ट्रपति भण्डारीको भनाइ थियो । श्रमशक्तिको आन्तरिक माग र अन्तरराष्ट्रिय श्रमबजारको आवश्यकताअनुसार दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न, जीवनोपयोगी सीप, सिर्जनशील सोच र राष्ट्रप्रति उत्तरदायी नागरिक तयार गर्न सामुदायिक विद्यालयको योगदान रहेको उनले बताइन् ।
“आज हाम्रो सामु देखापरेका अनेकौँ चुनौतीमध्ये युवाशक्तिको तीव्र विदेश पलायन पनि एक हो । गुणस्तरीय शिक्षा र रोजगारीको खोजीमा उनीहरू देशबाहिर जान बाध्य भइरहेका छन् । यससँगै नेपालको श्रम, सीप, मस्तिष्क र पूँजीसमेत पलायन भइरहेको छ । मुलुकको यस्तो अवस्था बदल्न हामीले स्वदेशमै गुणस्तरीय शिक्षा, सीपमूलक तालिम र उत्पादनमूलक रोजगारीका अवसर सिर्जना गर्नु आवश्यक छ । यसका लागि हाम्रो शिक्षा प्रणालीलाई प्रत्यक्षरूपमा उत्पादनसँग जोड्न अत्यावश्यक छ”, पूर्वराष्ट्रपति भण्डारीले भनिन्।
















विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया