शनिबार, जेठ २४, २०८२

स्वच्छ पर्यावरण र समृद्ध भविष्यका लागि ‘गौआधारित जीवन’

कौशलेन्द्र झा २०८२ जेठ २३ गते १७:१०

    काठमाडौँ । हिजोआज आर्थिक समृद्धि, स्वास्थ्य जीवन र समुन्नत भविष्यका लागि थरिथरिका कुरा भइरहेका छन् । व्यक्ति, संस्था र सिङ्गो राज्य संयन्त्रका लागि पनि यो कुरा आजको सबैभन्दा प्राथमिक विषय बनेको छ । मानव मस्तिष्क र सामथ्र्यले भ्याएसम्म यसमा थुप्रै प्रयास र लगानी भइरहेकै छ । के ती प्रयास र लगानी दीर्घकालीन समाधानतर्फ उन्मुख छन् ? यस विषयमा हामी सबैले बहस र चिन्तन गर्नुपर्ने आवश्यकता छ ।

    जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न स्थानमा यो दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

    संयुक्त राष्ट्रसङ्घले आह्वान गरेअनुसार सन् १९७३ देखि हरेक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । यही सन्दर्भमा गौआधारित जीवनले कसरी वातावरण स्वच्छता र समृद्ध भविष्यमा योगदान गर्न सकिन्छ भन्नेबारे बहसका लागि यहाँ चर्चा गर्न चाहन्छु ।

    दृष्टिकोण बदलौँ
    अरु कुरामा प्रवेश गर्नुअघि आजको मानिसलाई हामीले कसरी प्रशिक्षित गरिरहका छौँ भन्ने कुराबाट बहस गरिनुपर्छ भन्ने लाग्छ । अचेल हरेक मान्छे सफलता र असफलताको संकीर्ण परिभाषामा अल्झिरहेको छ । आजको भौतिकवादी दुनियाँमा व्यक्तिको सफलता उसले आर्जन गर्ने आर्थिक सम्पत्तिले मापन हुने गरेको छ । कसैले धेरै पैसा कमाएको छ भने उसलाई सफल भन्ने परिपाटी छ । के ऊ मानसिक, आध्यात्मिक, सामाजिक र शारिरीक रूपमा सफल छ त ? के आजको मान्छेले गरिरहेका क्रियाकलापले व्यक्तिको भविष्यसँगै सिङ्गो मानव भविष्यका लागि योगदान गरिरहेका छन् ? यसको मापन त बहुआयामिक कोणबाट हुनुपर्ने हो तर त्यसो भइरहेको छैन ।

    धन कमाउनुपर्छ, जसरी नि कमाउनुपर्छ भन्ने सिकाइबाट हाम्रो जीवनको सुरुआत हुन्छ । त्यसका लागि नै सम्पूर्ण प्रयन्त हुन्छ, प्राकृतिक स्रोत दोहन गरेर होस्, या प्राकृतिक वा अप्राकृतिक माध्यमबाट । धन आवश्यकता पूरा गर्ने साधन मात्रै हो र सम्पूर्ण समस्याको समाधान होइन भनेर सिकाउन बिर्सिएका छौँ । अर्थ (सम्पत्ति) सुखको साधन हो तर सम्पूर्ण साध्य होइन भन्ने कुरा बुझेको दिनबाट धेरै समस्याको समाधान हुन्छ । अस्पतालको श्ययामा छटपटाउँदै गर्दा धन काम लाग्दैन । एप्पलका मालिक स्टिभ जब्स, भारतको ‘टप टेन’ लिस्टमा पर्ने सेयर कारोबारी राकेश झुनझुनवालाको कमै उमेरमा देहावसान भयो । यो उदाहरण किन दिएको भने बैंकमा जति पैसा भए पनि अन्तिममा काम आउँदैन । यो सत्य हामीले बुझाउन छोडेका छौँ । यो पृथ्वी संसारमा भएका चराचर जगत्को साझा भविष्य हो तर केवल मानिसले आफ्नो स्वार्थमा उपभोग गरिरहेको छ । जुनदिन ‘दोहानवादी संस्कार’ बाट मानिस माथि उठ्छ त्यसदिन यो संसार सुन्दर हुनेछ । बस्नलायक स्वर्गजस्तै संसार हुनेछ ।
    हामी विलासी बन्दै गएका छौँ, त्यसको बदलामा प्रकृतिले हामीलाई थरिथरिका रोगव्याधि र विपत्तिको सृजना भइरहेको छ । अवस्था कहासम्म पुग्यो भने एउटा ठूलो फर्मास्युटिकल्सको मालिक जसले मान्छे बचाउनका लागि भनेर औषधि उत्पादन गरिरहेको छ तर ऊ आफैँ र उसको परिवार रोगले थला परिरहेको छ । लाखौँ खर्चेर डाक्टर बनिएको छ तर वरिपरि रोग र रोगी मानिसले घेरिएको छ । हुँदाहुँदा पछिल्लो समय जति पनि मेडिकल साइन्स, सुखसाधन, खानपान, हावापानी छ त्यसले समस्या समाधान गरिरहेको छैन । त्यसले सुख, शान्ति, अमनचयन, सुस्वास्थ्य, समृद्धि र दीर्घायु दिइरहेको छैन । त्यसो भए समाधान के हो त ? यो प्रश्नको उत्तर खोज्नु हरेक मनुष्यका लागि अनिवार्य बनेको छ ।

    Advertisement
    machhapuchare

    यसको उत्तर हाम्रो सनातन मान्यता, वेद, आयुर्वेदमा छ । जीवनको सार, सफलता र असफलताको ज्ञान त्यसभित्र पसेपछि मात्र थाहा हुन्छ । धर्म, अर्थ, काम, मोक्षको जग हाम्रो सनातन संस्कारमा छ ।

    गौआधारित दृष्टिकोण
    हाम्रा चारै वेदमा समृद्धि, स्वास्थ्य जीवन र समुन्नत भविष्यका लागि गाईको महत्वबारे वर्णन छ । ऋग्वेदमा गाईको दुध, घ्यु र पञ्चगव्यसहित धनको महत्व दर्शाइएको छ । सामवेदमा गाई र गाई आधारित महत्वको मन्त्र, यजुर्वेदमा दुध, दही र पञ्चगव्य र अथर्ववेदमा गाई तथा मानव जीवन रक्षाका लागि पञ्चगव्य र पञ्चगव्य उपचारको वर्णन छ । पूरै जीव, जगत्, चराचरको उपचारका लागि अथर्ववेदमा उल्लेख छ । यी सबै मन्त्रका रूपमा छन् । चरकसंहितामा जानुस् या धनवन्तरी वा जुनसुकै संहितामा जानुस्, त्यहाँ आयुर्वेद र स्वास्थ्यको वर्णन गरिएको छ । स्वास्थ्यको मूल गौ आधारित जीवनमा छ । त्यहाँ गाईबिना स्वास्थ्य, समुन्नत भविष्यको कल्पना पनि गर्न सकिँदैन भनिएको छ तर आज यो महत्व बिर्सियौँ । त्यही भएर आयुर्वेद, स्वास्थ्य, धर्म अर्थात् धर्म, अर्थ, काम, मोक्षको दृष्टिकोणसमेत ‘फेल’ भइरहेको छ ।

    शास्त्रमा वर्णन गरिएको गाई हाम्रो रैथाने (देशी) जुरो भएको गाई हो । जुन महादेवभन्दा पनि पहिले जन्मेको भन्नसकिन्छ किनकि महादेव पनि नन्दीसँग रमाएको देखिन्छ । शास्त्रले मात्रै होइन विज्ञानले नै गाईको दूध अमृत समान भनेको छ । यो कुरा आज हामीले जुन गाईको दूध खाइरहेका छौँ, त्यसको कुरा होइन अर्थात् पश्चिमा गाईको कुरा होइन । यस्ता गाईको दूधलाई ‘मन्द जहर’ नै भन्ने गरिएको छ । यो कुरा हामीले बुझ्न सकिरहेका छैनौँ । हामी अहिले जति पनि दुध, दही, डेरी प्रोडक्ट उपभोग गरिरहेका छौँ, त्यो स्वास्थ्य प्रतिकूल छ । यो हाम्रा शास्त्रले मात्रै भनेको होइन, आधुनिक विज्ञान र प्रविधिमा आधारित अध्ययनले समेत भनिसकेका छन् । यही सन्दर्भमा पश्चिमा गाईको कसरी अस्वस्थ्यकर छ भन्ने विषयमा ‘डेभिल इन द मिल्क’ भन्ने किताबमा पर्याप्त लेखिएको छ । पश्चिमा गाईले दिने ए—१ वाला दूधमा पाइने प्रोटिन बीटा–कैसोमॉर्फिन–७ ले शरीरमा हानिकारक प्रभाव पार्छ । यसले डायबिटीज टाइप १, हृदय रोग, ऑटिजÞम, क्यान्सर, अल्सर, पाचन प्रक्रिया गडबडीलगायत धेरै रोगहरू लाग्छन् भनेर पर्याप्त व्याख्या गरिएको छ ।

    शास्त्रले त धेरै पहिले यो कुरा भनिसकेको छ । दूधलाई पूर्ण आहार भनेर व्याख्या गरिएको छ । आजभोली बजारमा पाइने दूध आहार हुनसक्दैन । त्यसको लगातार १० दिन सेवनले अस्पताल भर्ना हुने अवस्था आउनसक्छ तर प्राकृतिक वातावरणमा राखिएको अछामी नौमुठेलगायत हाम्रा देशी गाईको दूध खाएर जीवनभर बाँच्न सकिन्छ । बिरामी हुने कुरा मात्रै होइन, कहिल्यै रोग नलाग्ने अवस्था बन्ने कुरा अध्ययनले पुष्टि गरेका छन् । सन् २०१६ तिर ‘डेभिल इन द मिल्क’ पुस्तकको व्यापक चर्चा भएपछि हाम्रो पूर्वीय गाई लिएर पश्चिमाहरूले बृहत् रूपमा दूध खान सुरु गरिसकेका छन् । विडम्बना, हाम्रो एशियन क्षेत्रमा भने त्यहाँको पाउडर दूध, डेरी मिल्कलगायत अन्य दुग्धजन्य खाद्य सामग्री आउँछन् । शास्त्रअनुसार देशी गाईलाई धर्म, अर्थ, काम, मोक्षको द्वार हुनसक्छ तर पश्चिमा गाई नर्कको ।

    भैसी र पश्चिमा गाईबाट पञ्चगव्य (दूध, दही, घ्यु, गोबर, पिसाब आधारित वस्तु ) बन्दैन । देशी गाई त आध्यात्मिक दृष्टिले मात्रै होइन, वैज्ञानिक रूपमा पनि महत्वपूर्ण छ । पञ्चगव्यमा हामीलाई चाहिने सबै तत्वहरू प्रोटिन, भिटामिन, आइरन, क्याल्सियम, कोपर, जींक, स्वर्ण क्षार छ । त्यसैले त हाम्रो सनातन कालमा बच्चालाई स्वर्ण परासन गराइन्थ्यो, अन्न परासन होइन । जन्मनेबित्तिकै पहिले पञ्चगव्यको एकथोपा दिइन्थ्यो, अहिले त जन्मनेबित्तिकै डेरीमा तयार गरिएको ‘फर्मुला मिल्क’ खुवाउछौँ ।
    अहिले जन्मिने पनि हस्पिटलमै र मर्ने पनि हस्पिटलमै । पञ्चगव्यको कुरा पनि त्यस्तै हो, सबै जिम्मा पण्डितमाथि निर्भर छ । पहिले पो पण्डितले गाई सेवा गर्नुहुन्थ्यो । कम्तीमा एउटा गाई हुन्थ्यो, त्यसैको पञ्चगव्यबाट पूजा हुन्थ्यो । अहिले त पण्डितले पनि दोकानमै गएर सामान ल्याउने हो । दोकानवालाले पनि अर्को पक्षबाट त्यसको जोहो गर्ने हो । भन्नुको अर्थ हामी प्राकृतिक जीवनपद्धतिबाट यति धेरै टाढा भइसक्यौँ कि त्यसबारे सोच्नेसमेत फुर्सद छैन ।

    ‘काउ कड्लिङ, काउ हगिङ’
    पछिल्लो समय प्रकृतिप्रेमको कुरा उठिरहेको छ । सानैस्तरमा भए पनि प्राकृतिक जीवनका बारेमा बसह र पैरवी भइरहेका छन् । यो कुरा हाम्रो पूर्वीय सभ्यतामा भन्दा पश्चिमा क्षेत्रमा बढी भइरहेको छ । नयाँ नयाँ शैलीका विषयमा मानिसहरू सचेत हुन थालेका छन् । यसै सन्दर्भमा मानव र पृथ्वीको स्वास्थ्यलाई दृष्टिगत गरी गौआधारित जीवन विकासको कुरा गर्न थालिएको छ । हिजो हाम्रा शास्त्रले गौआधारित जीवन र संस्कारको महिमाबारे व्यख्या गरे तर समयक्रममा आधुनिक युगको प्रभावले सनातनीहरूले त्यो कुरा छोड्दै गयौँ ।

    हिजो हाम्रो शास्त्रले गाईको समिप्यताले मात्रै पनि सकारात्मक ऊर्जाप्राप्त हुने कुरा गरे । गाई आधारित पञ्चगव्य चिकित्सकीय दृष्टिले पनि महत्वपूर्ण छन् भनेर व्याख्या गरे । गाईलाई सुम्सुम्याउने र ‘हिलिङ् स्वायल’ (जीवित माटो) छुने कार्यले मात्रै पनि धेरै लाभप्राप्त हुन्छ भनेर ऋषिमुनीहरूले भने तर हामीले पत्याएनौँ । यही कुरा आज पश्चिमाहरूले स्वीकार्न थालेका छन् । कतिपय देशमा त यसको अभ्यास नै सुरु भइसक्यो । हाल गाईलाई सुम्सुम्याउने/आलिङ्न गर्ने (काउ कड्लिङ), अङ्गालो हाल्ने (काउ हगिङ) अभ्यास गर्न थालिएको छ । कतिपय देशमा यसो गर्नका लागि एक घण्टाको एक सय डलर शुल्क लिने गरिएको छ । यससँग मानव र प्रकृतिको स्वास्थ्य मात्रै पर्यटन विकासमार्फत समृद्धिको सपना देख्न थालिएको छ ।

    यसो भनिरहँदा हामी छुटाउनै नहुने सत्य के हो भने हाम्रो देशी गाई त्यसको महत्वपूर्ण स्रोत हो किनकि पश्चिमा गाई, जसको दूधमात्रै होइन, त्यसको सामिप्यता नै अहितकर छ भनेर विभिन्न अध्ययनले भनिरहेका छन् । तपाई आफैँ पनि प्रयोगात्मक अभ्यास गरेर हेर्नसक्नुहुन्छ । पश्चिमा गाई भएको गोठमा एकछिन पनि बस्न सकिँदैन, त्यसको दुर्घन्ध र तापले जबकि देशी गाईको गोठमा बसेर ध्यान गर्नसकिन्छ । कारण के हो भने पश्चिमा गाईको जीवन नै अप्राकृतिक भयो । भ्याक्सिन दिनुपर्ने, एन्टिबायोटिक खुवाउनुपर्ने, जाडोमा एसी, गर्मीमा पङ्खा दिनुपर्ने अवस्था छ । ‘जेनेटिकल्ली मोडिफाइड’ गरिएकाले त्यसको जन्म र जीवन नै अप्राकृतिक छ । यसको गोबर र मुत्र पनि जमिनको लागि राम्रो होइन । त्यसैले त्यो माता हुनसक्दैन । हाम्रो सनातन मान्यतामा त्यो केवल जनावरका रूपमा मात्रै छ ।

    यो तथ्यलाई उपयोग गर्दै हामी ‘काउप्याथी’, पञ्चगव्य उत्पादनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्नसक्छौँ । यदि गाईलाई थेरापी मान्ने हो भने त नेपालमा यो सोचले ‘गौआधारित जीवन’ का माध्यमबाट स्वस्थ जीवन, अािर्थक विकास र समुन्नत भविष्यका लागि एकैपटक योगदान गर्न सकिने पर्याप्त ठाउँ छ । हामी त धेरै दूध दिने र नदिनेका नाममा अल्झियौँ । सरकारले नश्ल सुधारका नाममा ठूलो लगानी गरिरहेको छ । यस्तो अवस्थामा अब त हाम्रो आफ्नो नश्ल नै नरहने हो कि भन्ने चिन्ता छ । रही हाले पनि जिन बैंकको प्रयोगशालामा सीमित होला कि भन्ने चिन्ता छ । यसर्थ अब बुझ्नै पर्ने कुरा के छ भने हाम्रो रैथाने गाईबाहेकको न जीवन सुरक्षित छ, न दूध, न त व्यापार । पश्चिमा गाईका ठूला फर्महरूकै अध्ययन गरौँ, बाहिर धेरै पैसा कमाएकी जस्तो लाग्छ तर त्यस्तो छैन । व्यापार टाँट पल्टिने अवस्था छ, त्यसको नियमित दूध सेवन गर्ने र नजिक हुने मान्छे नै बिरामी भए । कमाएको पैसा क्यान्सर, डाइबिटिज, डिप्रेसनलगायत रोगको उपचारमै खर्चिनुपर्ने अवस्था छ । आजको दिनमा यदि बिमा नहुँदो हो त कुनै पनि त्यस्ता फर्महरू रहने थिएनन् । सरकारले बिमाको पैसा छैन भनिरहेको छ, अब केही वर्षपछि भयावह अवस्था आउनेवाला छ ।

    यसर्थ, कुनै पनि चिजवस्तुको उपयोगिता जबसम्म समग्र रूपमा हुँदैन, तबसम्म त्यो चिज समृद्ध जीवनका लागि हुनसक्दैन । दूधको कुरा गरिसक्यौँ, बाच्छाको उपयोगिता छैन । आज यो गाई मरेपछि पनि त्यसको उपयोगिता छैन । देशी गाईको जन्मेदेखि मृत्युपर्यन्त उपयोगिता छ । आज वातावरण दिवशको नारा छ ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व ।’ प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वातावरणीय दृष्टिले चुनौतीपूर्ण बन्दै गएको कुरा जोड तोड्ले उठिरहेको छ तर आजको पश्चिमा गाईको पञ्चगव्य मानवका लागि मात्रै होइन, पृथ्वीको स्वास्थ्यका लागि पनि हानिकारक छ । त्यसको प्रयोगले माटोको स्वास्थ सुधार हुँदैन र त्यसको उत्पादनले हाम्रो स्वास्थ्यमा त्यत्तिकै असर गरिरहेको छ । हो, त्यसैले पनि हाम्रो देशी गाईको दूधलगायत पञ्चगव्यले जीवन दिने कुरा मात्रै होइन, त्यसको समाधीघाट भएको बञ्जर ठाउँमा पनि जीवन दिने सामथ्र्य छ । त्यसले माटोको स्वास्थ, उत्पादन र त्यसको उपयोगले हाम्रो स्वास्थ्य पनि स्वास्थ्य हुने कुरा आजको यथार्थ हो । हामी सुन्छौँ भारतबाट करिब चार सय करोडको देशी गाईको गोबर गल्फ मुलुकमा निर्यात भएको छ । हामी नेपाली भने रासायनिक मलकै पछाडि दगुरेर बलौना पोख्ने र सत्तो सराप गरिरहेका हुन्छ । व्यापारिक दृष्टिले पनि देशी गाईको हरेक अङ्ग, सिङ, छालासमेत महत्वपूर्ण छ । सनातनलाई मान्ने हो भने त यसको अनन्त उपयोगिता छ ।

    देशी गाईको घ्यु रु सात हजारदेखि रु सत्तरी हजारसम्म बिक्री भइरहेको छ । भारतमा १५ साल पुरानो घ्यु एक लाख रुपैयाँमा बिक्री भइरहेको छ । मूल कुरा अहिले पञ्चतत्व (जल, जमिन, वायु, आकाश, अग्नी) समेत अशुद्ध भइसक्यो, त्यसलाई शुद्ध गर्नका लागि पनि देशी गाईको आवश्यकता छ ।

    बुझ्नै पर्ने कुरा
    अहिले धेरै मान्छेहरू क्यान्सर, मुटु, किड्नी, निसन्तान, मोटोपन, मधुमेह, सुगर, उच्च रक्तचाप (प्रेसर), थाइराइड, कोलेस्टोलजस्ता समस्याबाट ग्रस्त छन् । यसको जड के हो ? यसको समाधान के हो ? यसको समाधान आजका डाक्टरसँग वा आजको चिकित्सासँग छ ? यो उत्तर मैले भेटेको छैन । सायद अरुले पनि भेटेको छ जस्तो लाग्दैन । तपाईले एकपटक प्रेसरको औषधि खानुभयो भने जीवनभर खानुपर्ने । यस्ता धेरै रोग छन्, जसको औषधि सुरु ग¥यो भने सधैँ खाइरहनुपर्छ । यो समस्याको समाधान हो कि समस्यामाथि समस्या थपिएको हो ?

    यसर्थ, औषधि त रोकथामका उपाय हुन्, समाधान त तपाई हाम्रो प्राकृतिक जीवन नै हो । यसबारेमा सोच्ने कि नसोच्ने ? यही सोच्ने अवस्था बनाउन हामीले कुरा मात्रै गरिरहेका छैनौँ, काम पनि गरिरहेका छौँ । त्यसको नमुना अभ्यास हामीले ‘जनकधाम’ मार्फत गरिरहेका छौँ । म आठ वर्षदेखि गाईसँग प्रत्यक्ष जोडिएको छु । चार वर्ष त भारतमा रैथाने गाई र पञ्चगव्य अध्ययनमै बिताए । त्यहीबीचमा जनकधामको जन्म भएको हो । सबै समस्याको समाधान गाईमा देखेकोले म यसमा लागेको हुँ । जनकधाम आर्थिक, सामाजिक र वातावरणी गरी तीन मेरुदण्डमा आधारित छ । हामीसँग अछामी नौमुठे, तराई, गुजरातको गीर र साहिवाल गरी चार प्रजातिका ११० गाईबाच्छाहरू छन् । त्यसको पञ्चगव्यबाट ७० भन्दा बढी विविध उत्पादन गरिरहेका छौँ । यसबाट हजारौँ, अनन्त औषधीय गुण भएका उत्पादन गर्न सकिन्छ । संसारमा त्यस्तो कुनै रोग छैन, जसको समाधान पञ्चगव्यको प्रयोगले हुन सक्दैन ।

    प्राकृतिक जीवन र पञ्चगव्यको सेवनले तपाईलाई रोग लाग्ने अवस्था आउन दिँदैन । त्यसो भएमा अस्पताल धाउनुपर्ने प्रश्न नै बाँकी रहँदैन । त्यो सन्देश फैलाउन हामीले जनकधामको अवधारणा अगाडि बढाएका हौँँ । त्यहाँ सबैभन्दा पहिले प्राकृतिक जीवन बाँच्न सिकाइन्छ । त्यसपछि पञ्चगव्यको उपयोगबारे जानकारी दिइन्छ । भविष्यमा हामीले माथि चर्चा गरेजस्तो गौआधारित पर्यटन प्रवद्र्धनका लागि नेचुरोप्याथी, काउप्याथी, गाईलाई सुम्सुम्याउने/आलिङ्न गर्ने (काउ कड्लिङ), अङ्गालो हाल्ने (काउ हगिङ) संस्कृति प्रचारका लागि पञ्चगव्य अस्पतालसमेत बनाउने योजना छ ।

    हाम्रो ध्येय आधुनिक औषधि र चिकित्सामा कुनै हस्तक्षप नगरी मानिसलाई प्राकृति जीवनको आधार तयार गर्ने हो । यहाँ प्राकृतिक जीवन बाँच्ने सुनिश्चितता खोज्छौँ, जसले म प्रकृतिमा फर्किन्छु, प्राकृतिक जीवनशैली बाच्छु भनेर प्रण गर्छ उसलाई पञ्चगव्यको महत्वपान गर्न सुझाउँछौ । भन्छन्, ‘नि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस ।’ यसर्थ, गौ नै हाम्रो प्राकृतिक जीवनको अभिन्न अङ्ग हुनसक्छ । गाईले सिंचित माटो नै हाम्रो प्राकृतिक जीवनको आधार बन्नसक्छ । यो जीवन नै धर्म, अर्थ, काम, मोक्षको आधार बन्नसक्छ । यदि साँच्चै हाम्रा सनातन दर्शन र गौआधारित संस्कृतिमा लाग्ने हो भने आर्थिक समृद्धि, स्वास्थ्य जीवन र समुन्नत भविष्यका आधार तयार गर्न सकिन्छ । गौआधारित जीवन विकास गरी अपार सम्भवनालाई सम्भव बनाउन सकिन्छ । यसर्थ, आजका दिन प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्ने प्रण गरौँ । वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवजन्तुबीच पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई संविधानप्रदत्त स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन लागौँ ।

    (लेखक झा चार्टर्ड एकाउन्टेन्ट र ‘जनकधाम’ गौशालाका संस्थापक हुन्)

    प्रतिक्रिया