सडक स्तरोन्नति गर्न युवाहरूको माग

पाल्पा– पाल्पाकाे निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका छन् । यसका लागि उनीहरूले गाउँपालिकाको कार्यालय अगाडि प्रदर्शन एवम् धर्ना दिएका छन् ।
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने रामपुर बेलडाँडा, ढुङ्गानाबेँसी, मित्याल अरुणखोला सडकखण्डअन्तर्गत पर्ने सडक समयमा नै स्तरोन्नति नहुँदा आवतजावत गर्नेले सास्ती भोग्नुपरेको छ । नवलपुर क्षेत्रको भागमा सडक स्तरोन्नति सम्पन्न भइसकेको छ भने पाल्पा खण्डका भागमा स्तरोन्नतिको काम भएको छैन ।
करिब पाँच दशकअघि नक्सा तयार भएर सडक मार्ग (ट्रयाक) खुलेको लामो समय भइसक्दा पनि स्तरोन्नतिको काम हुनसकेको छैन । सो सडकखण्ड भएर यात्रा गर्ने यात्री तथा स्थानीयवासीले झमेला बेहोर्नुपरेकाले सडक स्तरोन्नति छिटो गर्न माग गर्दै गाउँपालिका कार्यालयलाई ध्यानाकर्षण गराएको युवा कमल सारुले बताए ।
‘निस्दीलाई विकास भीरमाथिको फल बन्यो, निस्दीलाई उपहार धुलो र हिलो, सडक स्तरोन्नतिमा किन ढिलो, जनतालाई सास्ती भो’ लेखिएका प्लाकार्डसहित युवाले कार्यालयमा धर्ना दिएका हुन् । आगामी बजेटबाट सरकारले यस सडकखण्डलाई प्राथमिकता दिएर स्तरोन्नतिको काम गर्नुपर्ने युवाको माग छ ।
निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुका अनुसार यो सडक सङ्घ सरकारको मातहतमा रहेकाले प्रदेश र गाउँपालिका आफैँले खर्च गर्न नपाउने हुँदा स्तरोन्नतिको काम नभएको हो ।
दुई प्रदेशलाई जोड्ने सहज पहुँचमार्गको सडक स्तरोन्नति गर्न सङ्घीय सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भइरहेको छ । सडकखण्डलाई प्राथमिकतामा राखेर सङ्घीय सरकारले बजेट उपलब्ध गराउनुपर्छ ।
उनले सम्बन्धित निकायमा जानकारी गराउने र छिटोभन्दा छिटो सडक स्तरोन्नतिको माग गर्ने जानकारी दिए । सडक स्तरोन्नतिका सम्बन्धमा जनस्तरबाट सरोकारवाला निकाय तथा व्यक्तिलाई पटकपटक ध्यानाकर्षणपत्र बुझाउँदा पनि समयमै दिगो र प्रभावकारी काम हुन नसक्दा स्थानीय, यात्री तथा व्यवसायी कष्टपूर्ण यात्रा गर्न बाध्य बनेका छन् ।
क्षतिग्रस्त सडकखण्डको तत्काल अनुगमन गरी मर्मतसम्भार, उचित ढल निकास गर्दै सडकको दीर्घकालीन स्तरोन्नति र उपयुक्त समय सीमा निर्धारण, बाह्रै महिना सडक सञ्चालन गर्न नियमित मर्मत, आगामी बजेटबाट यस सडकखण्डलाई विशेष महत्वका साथ पर्याप्त बजेट विनियोजन, काममा भइरहेको ढिलासुस्ती, लापरबाही र अनियमितताका सम्बन्धमा पालिकाबाट नियमित अनुगमन तथा निगरानी गर्न युवाहरूले ध्यानाकर्षणपत्र गाउँपालिकामा बुझाएका छन् ।
















कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया