विज्ञान प्रविधिमा आधारित उद्यमशीलता विकास गर्न आवश्यक : अध्यक्ष दाहाल

काठमाडौँ। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधिमा आधारित उद्यमशीलताको विकासका लागि राज्यले पहल गर्नुपर्ने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको युवा वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वैज्ञानिक अनुसन्धान र प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यको स्पष्ट नीति, पर्याप्त लगानी, सहकार्य प्रणाली र पूर्वाधार निर्माण आवश्यक रहेको बताए ।
“वैज्ञानिक अनुसन्धान तथा आविष्कारको क्षेत्रमा नेपालले अन्तरराष्ट्रियस्तरमा उल्लेखनीय उपलब्धि हासिल गर्न अझै सकेको छैन,” उनले भने, “अनुसन्धान अनुकूल संरचना र पूर्वाधारको अभाव, सरकारी लगानीको न्यूनता र नवप्रवर्तनलाई व्यवसायमा रूपान्तरण गर्ने प्रणालीको कमजोरी समाधान गर्न राज्य गम्भीर हुनुपर्छ ।”
नेपालका युवामा रहेको सिर्जनशील सोच, सीप र क्षमतालाई देशमै प्रयोग गरी राष्ट्र निर्माणमा परिचालन गर्नुपर्ने बताउँदै उनले युवाहरू विदेश पलायन हुनुपर्ने अवस्था न्यूनीकरणका लागि देशभित्रै भरोसा र अवसर निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । यस्ता सम्मेलनले युवामा आशा र सम्भावनाको नयाँ आधार खडा गर्ने उनको भनाइ थियो ।
विज्ञान प्रविधिमा नेपाल अझै पछाडि रहेको स्वीकार गर्दै अध्यक्ष दाहालले अनुसन्धान पूर्वाधार, सरकारी तथा निजी लगानी, विश्वविद्यालय र प्रयोगशालाबीच समन्वय अभाव, नवप्रवर्तनको व्यवसायीकरण गर्न नीतिगत प्रोत्साहनजस्ता पक्षमा सुधारको आवश्यकता औँल्याए। उनले अनुसन्धान अनुदान, नवप्रवर्तन कोष, प्राविधिक शिक्षाको सुदृढीकरण तथा बौद्धिक सम्पत्ति अधिकारको संरक्षणका लागि स्पष्ट संरचना निर्माण गर्न जोड दिए ।
अध्यक्ष दाहालले विज्ञान तथा प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यले नीति निर्माण, पूर्वाधार विकास, जनशक्ति उत्पादन र अनुसन्धान प्रवर्द्धनलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, सामाजिक सञ्जाल विधेयक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, मिडिया काउन्सिल विधेयक सङ्घीय संसद्मा छलफलकै क्रममा रहेको र छिट्टै पारित हुने विश्वास व्यक्त गरे ।
उनले विज्ञान तथा प्रविधिमा आधारित राष्ट्र निर्माणको सन्दर्भमा युवाको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै युवा वैज्ञानिकलाई सिर्जनशील सोच, प्रयोगशील क्षमता र अनुसन्धानमूलक प्रवृत्तिमा अझ प्रोत्साहित गर्न आग्रह गरे । सम्मेलनमा नवप्रवर्तनशील प्रविधिको प्रदर्शनीका साथै विविध वैज्ञानिक विषयमा विज्ञहरूमार्फत् विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
















इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
प्रतिक्रिया