बागमती अटो–जिमखाना च्याम्पियनसिप तथा टिडिएस मोटर र्याली सम्पन्न

काठमाडौं । बागमती अटो–जिमखाना च्याम्पियनसिप तथा टीडीएस (टाइम–डिस्ट्यान्स–स्पिड) मोटर र्याली असार १४ गते शनिबार बनेपास्थित चण्डेश्वरी ड्राइभिङ स्कूलमा भव्यताका साथ सम्पन्न भएको छ ।
बागमती अटोमोबाइल्स एसोसिएसनको संयोजनमा मोटोभर्स स्पोट्र्स क्लब र जियोन ओभरल्याण्डको आयोजनामा भएको यो प्रतियोगिताले मोटरस्पोट्र्सप्रेमीहरूलाई रोमाञ्चक अनुभव प्रदान गरेको थियो । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को प्राविधिक सहयोग र बागमती प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोगमा आयोजित यस इभेन्टमा ३२ गाडीसहित ६१ जना ड्राइभरहरूले सहभागिता जनाएका थिए ।
यो च्याम्पियनसिपले दुई प्रमुख विधाहरू समावेश गरेको थियोः अटो–जिमखाना र टीडीएस मोटर र्याली । अटो–जिमखानामा ड्राइभरहरूले आफ्नो ड्राइभिङ कौशल, गति र सटीकताको प्रदर्शन गरे भने टीडीएस र्यालीमा समय, दूरी र गतिको संयोजनमा आधारित रणनीतिक ड्राइभिङको कला प्रस्तुत गरिएको थियो । प्रतियोगितामा पुरुष र महिला दुवै वर्गका ड्राइभरहरूले उत्साहजनक प्रदर्शन गरेका थिए । यसैगरी अटो–जिमखानामा कुल २३ जना ड्राइभरहरूले प्रतिस्पर्धा गरेका थिए, जसमा पुरुषतर्फ १७ र महिलातर्फ ६ जना सहभागी थिए । क्वालिफाइङ राउण्डपछि पुरुषतर्फ शीर्ष ८ ड्राइभरहरू फाइनल चरणमा पुगे भने महिलातर्फ सबै ६ जना ड्राइभरहरू फाइनलमा प्रवेश गरेका थिए ।
पुरुषतर्फः आशिष भारतीले क्वालिफाइङ र फाइनल दुवै चरणमा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियनसिपको उपाधि जिते भने राजकुमार कार्की दोस्रो स्थानमा र विप्लक श्रेष्ठले तेस्रो स्थान हासिल गर्न सफल रहे । आशिषले नगद १ लाख, दोस्रो स्थानका राजकुमारले ५० हजार र तेस्रो स्थानका विप्लकले ट्रफी, सर्टिफिकेट र गिफ्ट ह्याम्पर प्राप्त गरे ।
महिलातर्फः क्वालिफाइङ चरणमा विपाश्ना तामाङ शीर्ष स्थानमा रहिन्, तर फाइनलमा वर्षा बस्नेतले उत्कृष्ट समय निकाल्दै बेस्ट फिमेल ड्राइभर अवार्डसहित उपाधि जित डिक्लेरेसनः आशिष भारती र वर्षा बस्नेतले बागमती अटो–जिमखाना च्याम्पियनसिपको उपाधि जितेका छन् । वर्षाले बेस्ट फिमेल ड्राइभर अवार्डसहित नगद ५० हजार, सिल्ड, सर्टिफिकेट र गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
टीडीएस मोटर र्याली ललितपुरको रोयल टुलिप, ग्वार्कोबाट सुरु भई लुभू, लाकुरी भञ्ज्याङ, कुशादेवी, पनौती हुँदै बनेपाको चण्डेश्वरी ड्राइभिङ स्कूलमा सम्पन्न भएको थियो । यो र्यालीमा ड्राइभर र सह–ड्राइभरको जोडीले समय, दूरी र गतिको सन्तुलन कायम राख्दै प्रतिस्पर्धा गरेका थिए । जहाँ प्रबेश पौडेल र प्रदीप पौडेलको जोडीले प्रथम स्थान हासिल गर्दा विप्लक श्रेष्ठ र राजन गिरी दोस्रो भए । यसैगरी पुजा पाख्रिन र नविन लामा तेस्रो भए ।
सबै विजेताहरूलाई शिल्ड, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । र्यालीको औपचारिक शुभारम्भ राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ, नासा नेपालका अध्यक्ष दशरथ रिसाल, सल्लाहकार ठाकुर प्रसाद न्यौपाने र कोशी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष प्रकाश कपुरीले संयुक्त रूपमा गरेका थिए ।
अटो–जिमखानाका विजेताहरूले श्रीलंका, ताइवान र भारतमा आयोजना हुने एसिया अटो–जिमखाना च्याम्पियनसिप र एसिया प्यासिफिक मोटर स्पोर्ट च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् । विजेताहरूले प्राप्त गरेको पुरस्कार रकम यी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिताको प्याकेजका लागि प्रयोग गरिनेछ ।
गत वर्ष थाइल्याण्डको बैंककमा भएको एसियन कप अफ सर्किट रेसिङ च्याम्पियनसिपमा सहभागी नितिका गजुरेललाई कोशी प्रदेश खेलकुद विकास बोर्ड र कोशी अटोमोबाइल्स एसोसिएसनको तर्फबाट ५० हजार नगदसहित सम्मान गरिएको थियो ।
बागमती अटो–जिमखाना च्याम्पियनसिप तथा टीडीएस मोटर र्याली २०८२ ले नेपालको मोटरस्पोट्र्स क्षेत्रमा नयाँ आयाम थपेको छ । आशिष भारती र वर्षा बस्नेतको उत्कृष्ट प्रदर्शन, प्रबेश र प्रदीप पौडेलको रणनीतिक विजय र समग्रमा ६१ जना ड्राइभरहरूको सहभागिताले यो इभेन्टलाई अविस्मरणीय बनाए । यो प्रतियोगिताले नेपाली मोटरस्पोट्र्सलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने आधार तयार गरेको छ, र आगामी दिनमा यस्ता इभेन्टहरूले थप युवाहरूलाई यो रोमाञ्चक खेलप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
















पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया