कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

मान्म (कालीकोट)। कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध हुन नदिने उद्देश्यले ठाउँठाउँ तयारीका साथ डोजरसहित आवश्यक सामग्री राखिएका छन् । राजमार्गको सुर्खेतबाट मुगुसम्मको खण्डमा वर्षातको समयमा बाढीपहिराका कारणले अवरुद्ध हुनसक्ने स्थान पहिचान गरी महत्वपूर्ण उपकरणसहित डोजरलाई तयारी अवस्थामा राखिएको हो ।
राजमार्ग अवरुद्ध नहोस् र भइहाले तत्काल सञ्चालनमा ल्याउन सकियोस् भनेर अत्यावश्यक उपकरणसहित डोजरलाई तयारी अवस्थामा राखिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । राजमार्गको सुर्खेत–दैलेख–कालीकोट–जुम्ला–मुगु सडकका विभिन्न सात स्थानमा सडक डिभिजन कार्यालय सुर्खेत र जुम्ला डोजर राखेका हुन् । राजमार्गलाई लक्षित गरी सडक डिभिजन कार्यालय सुर्खेतले दैलेखको राकम र तल्लो डुङ्गेश्वरमामा डोजर राखेको कार्यालय प्रमुख खुमबहादुर भण्डारीले बताए।
“यी डोजरले लेदो माटो वा पहिरो खसेर सडक अवरुद्ध गराए वा पहिरोले सडक अवरुद्ध गराएमा तत्काल सफा गरी सडक खुलाउने काम गर्ने छन्”, उनले भने, “वर्षायाम सुरु हुनासाथ कर्णालीका प्रमुख राजमार्ग अवरुद्ध हुनसक्ने सम्भावनालाई ध्यानमा राखी आवश्यक सामग्रीसहित डोजरहरू तयारी अवस्थामा राखेका हौँ ।” सडक डिभिजन कार्यालय जुम्लाले कालीकोटबाट मुगुसम्मको सडकलाई लक्षित गरेर पाँच ठाउँमा डोजर तैनाथ गरेको छ ।
कालीकोटको गगनेखोला–दैखोलाबाट खुलालुसम्मका लागि खुलालुमा, खुलालुबाट मान्मसम्मका लागि हुल्ममा, मान्मबाट टाकुल्लासम्मका लागि पिलीमा, टाकुल्लाबाट नाग्मसम्मका लागि गाल्जेमा र कालीकोटको नाग्म–जुम्लाबाट मुगुसम्मका लागि बुलबुलेमा डोजर तैनाथ गरिएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी एवं इञ्जिनियर प्रदीपनारायण चौधरीले जानकारी दिए ।
“राजमार्गमा पहिरो जाने तथा अन्य समस्या भए तत्काल सञ्चालनमा ल्याउनका लागि डोजरसहितको जनशक्ति तैनाथ गरिएको छ”, उनले भने, “वर्षातको समयमा कर्णाली राजमार्गमा सानातिना पहिरो आउने क्रम रहने भएकाले पूर्वतयारी थालिएको हो ।” राजमार्गअन्तर्गत दैलेख र कालीकोट खण्डमा पहिरो खसेर बढी सडक अवरुद्ध हुने जोखिम रहेको सूचना अधिकारी चौधरीले बताए । उनका अनुसार उक्त राजमार्गको दैखोला, सुनारखोला, पाल्तडा, पाली, गगनेखोलालगायत ठाउँमा अत्यधिक पहिरो खस्ने गर्दछ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया