सोमबार, फागुन १८, २०८२

महिनावारीहुँदा गोठमा सुत्न जाँदा …

मेरोन्यूज २०८२ असार २९ गते ११:१२
Close up of snake bite person leg need emergency medical help. Poisonous serpent snap outdoors. First aid and healthcare concept. Flat vector illustration.

ञ्चनपुर । कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला दमाई (आउजी)को सर्पदंशबाट मृत्यु भएको छ । महिनावारी (रजस्वाला) भएका समयमा घरको आँगनमै रहेको गोठमा सुत्न गएका बेला उनलाई बायाँ गालामा शुक्रबार सर्पले डसेको थियो । तत्काल उहाँलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

अस्पतालमा उपचारका क्रममा दमाईको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताउनुभयो । कमलाका तीन स–साना बालबालिका छन् । मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेका छन् । दमाईको बस्नका लागि पक्की घर भए पनि महिनावारी भएपछि सुत्नका लागि घरको आँगनमै बनाइएकोे गोठमै जाने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

स्थानीयका अनुसार कमला महिला दुई महिनाअघिमात्र भारतबाट घर आइपुगेकी थिइन् । नगरप्रमुख हेमराज ओझाले गोठमा सर्पदंशबाट महिलाको मृत्यु खबर सुन्दा स्तव्ध भएको बताए। “छाउपडी प्रथा हटाउनका लागि प्रयास गर्दै आएका छौँ”, उनले भने, “जनचेतना फैलाउने कार्य गर्दागर्दै महिलाको दुःखद् निधन भयो, निकै मर्माहत छौँ ।” विद्यमान छाउपडी प्रथा हटाउनका लागि आगामी आवको नीति तथा कार्यक्रमै पनि सचेतनामूलक कार्यक्रम गर्ने, छागोठ भत्काउने कार्यक्रम राखिएको उहाँले जानकारी दिए।

“छाउपडी प्रथा कानुनतः निषेध गरिएको भए पनि अशिक्षा र गरिबी भएका क्षेत्रमा विद्यमान छ, त्यसलाई घटाउनका लागि भरमग्दुर प्रयासमा छौँ”, उनले भने । छाउपडी प्रथाजस्तो गम्भीर मानवताविरोधी कुप्रथाका कारण निर्दाेष महिलाले ज्यान गुमाउनुपरेको दलित अगुवा राजुराम सार्कीले बताए । महिनावारी नियमित प्राकृतिक जैविक प्रक्रियालाई घृणित भावना राखेर व्यवहार गर्ने घरपरिवार, समाजको चरित्र फेर्न आवश्यक रहेको उनले उल्लेख गरे ।

राष्ट्रिय हलिया मुक्ति समाजका अध्यक्ष शिवी लुहारले छाउपडी प्रथा नेपालको सुदूरपश्चिममा प्रचलित अमानवीय सामाजिक प्रथाको अन्त्य हुनुपर्ने बताए। कुरीतिजन्य अमानवीय यस प्रथालाई हटाउन सम्बन्धित निकायले यथाशीघ्र पहलकदमी लिनुपर्ने उनको भनाइ छ । उनका अनुसार मुलुकी अपराध संहिता २०७४ मा महिला रजस्वला र सुत्केरी भएको अवस्थामा छाउपडीमा राख्न नराख्न पाइने व्यवस्था छ । यस्तो कार्य गरिए तीन महिना कैदको व्यवस्था छ ।

प्रतिक्रिया