सोमबार, फागुन ११, २०८२

लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सेवा शुभारम्भ

मेरोन्यूज २०८२ असार ३० गते १९:४०

बुटवल। महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । साथै, स्तनसम्बन्धी रोगहरूको परीक्षण, परामर्श र उपचारका लागि विशेष ब्रेस्ट क्लिनिक समेत सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेबहादुर सारुले सोमबार म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिकको समुद्घाटन गर्दै यहाँको स्वास्थ्य सेवामा नयाँ आयाम थपिएको बताए । अस्पतालमा ‘स्वचालित ल्याब रिपोर्ट डिस्प्याच’को समेत मन्त्री सारुले शुभारम्भ गरे ।

Advertisement
nepal life insurencenepal life insurence

प्रदेशका जनताहरुको स्वास्थ्य सेवाप्रति सरकार गम्भिर रहेको बताउँदै उनले विकट क्षेत्रका तथा आधारभूत तहका स्वास्थ्य संस्थाहरुमा समेत चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था गरी पहुँच बिस्तारको योजनामा रहेको बताए । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सरकारले खटाएको कुनै पनि ठाउँमा गएर काम गर्न आग्रह गर्दै उनले जनताको सेवाका लागि विधिमा रहेर काम गर्नुपर्नेमा जोड दिए । अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालको सेवा बिस्तारका लागि निरन्तर प्रयत्नशिल भएको दाबी गरे ।

अस्पतालमा शुभारम्भ गरिएका नयाँ सेवाहरुबारे जानकारी गराउँदै मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले सेवालाई विशिष्टिकृत गर्ने सवालमा उल्लेख्य प्रगति हासिल हुँदै गएको दाबी गरे । संघीय सरकार स्वास्थ्य मन्त्रालय अन्तरगत व्यवस्थापन महाशाखाको करिब २ करोड ८० लाख लागतमा म्यामोग्राफी मेशिन खरिद गरी जडान गरिएको हो ।

अस्पतालमा स्थापना गरिएको अर्को नयाँ सेवा ‘स्वचालित ल्याब रिपोर्ट डिस्प्याच’ मेशिनले सेवाग्राहीले थप सहज हुने अपेक्षा गरिएको मेसु ढकालले बताए ।

यो मेशिनबाट सेवाग्राही आफैले क्युआर स्क्यान गरी सम्पूर्ण मेडिकल रिपोर्ट बुझ्न पाउनेछन् ।

प्रतिक्रिया