आइतबार, कार्तिक ३०, २०८२

स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव र पर्यटनमन्त्री नागरिक उन्मुक्तिलाई दिने गृहकार्य

मेरोन्यूज २०८२ असार ३१ गते ९:१६

काठमाडौं । सरकार गठनको एक वर्ष पुगेसँगै प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डलका सदस्य हेरफेरकाे तयारीमा लागेका छन् । मन्त्रीमण्डल हेरफेरसँगै सरकारलाई दिएकाे समर्थन फिर्ता लिएका उपेन्द्र यादव नेतृत्वको जसपा र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउने तयारीमा प्रधानमन्त्री ओली लागेका हुन् ।

प्रधानमन्त्री निकट स्राेतका अनुसार उपेन्द्र यादवलाई स्वास्थ मन्त्रालयकाे जिम्मेवारी दिने तयारी छ । यादव आफै उपप्रधानमन्त्री सहित स्वास्थ्यमन्त्री बन्ने चाहना राखेका छन् । उपप्रधानमन्त्री नपाएको अवस्थामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादवलाई पठाउने विकल्पपनि उपेन्द्रले अघि सारेका छन् ।

यस्तै पर्यटन मन्त्रालयमा राज्यमन्त्री रहेका नागरिक उन्मुक्ति पार्टीलाई फुलमन्त्री दिने तयारी छ । यसअघि रञ्जिता श्रेष्ठ आफै मन्त्री बन्ने तयारीमा रहेकोमा जग्गाकाण्डकाे अडियाेमा उनी मुछिएपछि अहिलेका राज्यमन्त्री अरुण चाैधरीनै फुलमन्त्री बन्ने सम्भावना छ ।

यसाे गर्दा कांग्रेस र एमालेको एक/एक मन्त्री घट्ने र नयाँ दुई दलले दुई मन्त्रालय पाउने छन् । जसपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको घाेषणापछि प्रधानमन्त्री ओली विश्वासको मत लिनुपर्ने दवावमा छन् । विश्वासको मत लिँदा हुनसक्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलबाट सत्ता जाेखिममा पर्ने आँकलनसहित ओली अहिले उपेन्द्र यादव र रेशम चाैधरीलाई फकाउन लागेका हुन् ।

उनले चाैधरीलाई केही दिनअघि भेटेर सरकारमा सहभागीताबारे मनाइसकेकाे बताइन्छ । यस्तै उपेन्द्र यादवलाई पनि साेमबारसाँझ भेटेर प्रधानमन्त्री ओलीले फकाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच साेमबारसाँझ छलफल भएको थियाे ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, काँग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव बेठकमा सहभागी थिए । स्रोतका अनुसार बैठकमा मन्त्रीमण्डलमा सहभागी हुनेबारे यादव सकारात्मक छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले भूमी विधेयकमा उपेन्द्र यादवकाे साथ खाेजेका थिए । तर त्यसमा उपेन्द्रले स्पष्ट जवाफ दिएनन् । उपप्रधानमन्त्री पाए आफु मन्त्रीमात्रै पाए अर्को व्यक्तीलाई सरकारमा पठाउने उपेन्द्रकाे याेजना छ । साउनकाे पहिलो हप्ताभित्र मन्त्रीमण्डल परिवर्तनको तयारीमा ओली छन् । साे बेला पूरै क्याबिनेट हेरफेर नभए पनि विवादित र कार्य सम्पादनमा औसतभन्दा तल रहेका केही मन्त्रीले भने निरन्तरता पाउने छैनन् ।

कांग्रेसबाट सरकारमा सहभागी पुरै मन्त्रीकाे सेट फेरेर कृष्णप्रसाद सिटौलाकाे नेतृत्वमा नयाँ टीम पठाउने कि परराष्ट्रमन्त्री डा आरजु राणा र गृहमन्त्री रमेश लेखकलाई निरन्तरता दिएर अन्य केहीमन्त्री मात्रै हटाउने भन्नेबारे गृहकार्य भईरहेकाे छ । तर प्रधानमन्त्री ओली सत्ता बलियो बनाइराख्न राणा र लेखकलाई मन्त्रीबाट हटाउन नहुने पक्षमा छन् । उता एमालेमा पनि मन्त्री परिवर्तनका लागि आन्तरिक गृहकार्य जारी छ ।

नयाँ आएका रघुजी पन्त बाहेक सबै मन्त्री हटाउने वा अर्थमन्त्री विष्णु पाैडेल र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई पनि निरन्तरता दिने भन्नेबारे छलफल जारी छ । पाैडेल र गुरुङलाई हटाउँदा उनिहरु विद्या भण्डारी खेमामा जाने डरले ओली तत्काल भण्डारी र गुरुङलाई आफ्नो पक्षमा खुलेर आउने सुनिश्चितता गरे मन्त्रीमा निरन्तरता दिने मुडमा छन् । यस्तै गृहमन्त्री र अर्थमन्त्री कांग्रेस र एमालेले एकापसमा साट्ने कि भन्नेबारे समेत छलफल चलिरहेकाे छ ।

प्रतिक्रिया