बिहीबार, फागुन २१, २०८२

सीपयुक्त युवानै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

मेरोन्यूज २०८२ असार ३१ गते १६:४०

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सीपयुक्त र सक्षम युवा नै सबल, आत्मनिर्भर र समृद्ध राष्ट्र-निर्माणको सबैभन्दा शक्तिशाली आधारस्तम्भ भएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

विश्व युवा दक्षता दिवसको अवसरमा प्राज्ञिक विमर्श समुहले आइतबार लाजिम्पाट, काठमाडौँमा आयोजना गरेको ‘युवा विमर्श’ कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले यस्तो धारणा राखेका हुन्  ।

उनले संरचनात्मक बेरोजगारी र अवसरको अभावका कारण देशको सबैभन्दा ऊर्जाशील जनशक्ति विदेश पलायन हुन बाध्य हुनु राष्ट्रिय विकासको प्रमुख चुनौती एवं नीतिगत असफलताको सूचक भएको बताए । “सीपयुक्त अवसरको अभावमा मानवीय पुँजीको यो निरन्तर क्षयीकरणले हाम्रो भविष्यलाई कमजोर बनाइरहेको छ,” महरले भने,  “यो गम्भीर राष्ट्रिय यथार्थलाई हामीले नजरअन्दाज गर्न मिल्दैन।”

नेता महरले दक्षतालाई केवल रोजगारी प्राप्त गर्ने माध्यमका रूपमा नभई आत्मनिर्भरता, उद्यमशीलता र राष्ट्रिय उत्पादकत्वको मूल आधारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो। यसका लागि राज्य, निजी क्षेत्र र नागरिक समाजको सहकार्यमा आधारित एक सुदृढ पारिस्थितिक प्रणालीको निर्माण आवश्यक रहेको उनकाे भनाइ थियो।

“हामीले कृषि, पर्यटन, सूचना प्रविधि र निर्माण जस्ता तुलनात्मक लाभका क्षेत्रहरूमा मागमा आधारित सीपमूलक तालिम प्रदान गर्नुपर्छ,” उनले भने, “यसले स्वदेशमै व्यावसायिक अवसर सिर्जना गरी युवाहरूको ऊर्जा र क्षमतालाई राष्ट्र निर्माणमा लगाउन मद्दत गर्छ, जुन आजको परम कर्तव्य हो।”

अन्तमा, नेपाली कांग्रेस भित्र “युवा सहभागिता ,देशको आश्यकता ” को अवधारणामा देशब्यापी शिक्षा बहस सन्चालन गर्दै आएका नेता महरले विश्व युवा दक्षता दिवसले हामी सबैलाई सीपयुक्त युवा निर्माण गरी समृद्ध राष्ट्र बनाउने एउटै संकल्पतर्फ राजनीतिक दल, सरकार र नागरिक समाजको संयुक्त प्रयासमा जोड दिए ।

प्रतिक्रिया