मंगलबार, वैशाख २२, २०८३

भारतबाट भागेर आएका थिए भक्तपुरमा मृत भेटिएका दिदीबहिनी, राति २ बजे बनाएका थिए टिकटक

मेरोन्यूज २०८२ साउन ८ गते १३:२९

काठमाडाैं । भक्तपुरमा एउटै डोरीमा झुन्डिएको अवस्थामा भेटिएका दिदीबहिनी भारतबाट भागेर आएको खुलेको छ ।

Advertisement
NiccNicc

सुर्खेतको पञ्चपुरी– ८ स्थायी घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया सिर्जना कँडेल बिहिबार बिहान मृत भेटिएका हुन्।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ८, बोडे सिन्टिटारस्थित एक घरमा डेरामा बस्दै आएका उनीहरू नाइलनको डोरीमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दियाे । प्यासेजमा रहेको फलामको डन्डीमा नाइलनको डोरी बाँधेर डोरीको दुई भागमा एक–एकजना झुन्डिएको अवस्थामा भेटिएका हुन्।

प्रहरीका अनुसार उनीहरूको परिवारको भारतको मुम्बईमा बस्दै आएका छन्। उनीहरू दुई साताअघि भक्तपुर आएर त्यहाँ डेरामा बस्दै आएका थिए। उनीहरू हराएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएकाे थियाे।

प्रहरीले घटनास्थलबाट उनीहरूको मोबाइल बरामद गरेको छ। मोबाइलमा अन्दाजी गए राति २ बजेतिर टिकटक भिडिओ बनाएको पनि भेटिएको छ।

टिकटकमा मरेर गए पनि नतोडिने बन्धन माया हो बोलको गीतमा टिकटक बनाउँदै त्यसमा डोरीको फोटोसमेत देखाएका थिए।

मृतकका बुवा वासुदेव कँडेल मुम्बईबाट आजै आएपछि मात्र प्रहरीले शव उठाउने तयारी गरेको छ। मुम्बईबाट कम्प्युटर क्लास जान भनेर उनीहरू निस्किएको परिवारले जनाएको छ। परिवारले प्रहरीलाई यसबारे जानकारी गराएपछि अन्तिम लोकेशन भारतको गोरखपुर देखिएको थियो। त्यसपछि उनीहरू सम्पर्कविहीन थिए।

प्रहरीले अहिले घटनास्थलको प्रारम्भिक मुचुल्का गरी थप अनुसन्धान अघि बढाइसकेको छ।

प्रतिक्रिया