थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

कञ्चनपुर। कञ्चनपुरका थारु समुदायका मौलिक पहिचान बोकेका छतरी(छाता) हराउँदै जान थालेको छ । थारु समुदायको खेत–खलिहान र गोठालो यात्राको अभिन्न साथी मानिने बाँसको छतरी, आज स्मृतिमा मात्र सीमित हुँदै जानथालेको छ । जीवनभर खेतमा काम गर्दा ओढ्ने छतरी हराउँदै गएकामा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका धनिराम चौधरी चिन्ता व्यक्त गर्छन् ।
“बर्सातमा खेतमा काम गर्दा, गोरु जोत्न, बीउ झार्न, वा गोठाला जाँदा छतरी आवश्यक वस्तु हुन्थ्यो”, उनले भने, “बलियो पहाडी बाँस र महुराइन (मालु)को पात प्रयोग गरी बनाइने छतरी पानी चुहिन नदिने उत्कृष्ट घरेलु प्रविधि थियो ।” बूढेसकाल लाग्दासम्म परम्परागत रूपमा घरमै निर्माण गरेका छतरी ओढेको सम्झना उनलाई छ । छतरीमा एक थोपा पनि पानी चुहिँदैनथ्यो, हलुका पनि हुन्थ्यो, तर अब ती दिन सपनाजस्ता भएको उनी सुनाउछन् ।
छतरी थारु समुदायका लागि एक उपयोगी वस्तु रहेको उल्लेख गर्दै उहाँले सांस्कृतिक चिनारीका रूपमा छतरीलाई लिइने गरेको बताउनुहुन्छ । बाँसको चोयाले बुनेर महुराइन (मालु)को पातभित्र राखी बनाइने छतरी घाम र पानी दुवैबाट जोगाउने उपायका रूपमा रहेको उनले बताए । “पहाडबाट ल्याइने बलियो बाँसले बनाइएका छतरी पाँच वर्षभन्दा बढी टिक्ने गर्दथे”, उनले भने, “थारु समुदायमा तीन प्रकारका छतरी प्रचलनमा थिए, जसमा ठूलो गोलो छतरी, जसले शरीरको अधिकांश भाग छोप्थ्यो, मुरमुख्खी, टाउको मात्रै ढाँक्ने सानो छतरी र स्यांगो, त्रिकोण आकारको पूरै शरीर छोप्ने छतरी प्रचलनमा थिए ।”
यी सबै आज प्रयोगबाट हराइसकेको उहाँले बताउनुभयो । परम्परागत छतरीको तुलनामा बजारमा आधुनिक र सस्तो छाता रेनकोट सजिलै पाइने भएपछि परम्परागत सीप लोप हुन थालेको कलंकबहादुर चौधरी बताउछन् । बाँस र महुराइनको पात मुख्यरूपमा चुरे क्षेत्रका वनबाट सङ्कलन गरिन्थ्यो । तर अहिले वनभित्र अनुमति बिना प्रवेश गर्न नपाइने, पात टिप्दा झन्झट हुने, र कानुनी जटिलता हुने भएपछि छतरी बनाउने चलननै बन्द भएको उनको भनाइ रहेको छ ।
“थारु परम्परामा ससुराली जाँदा छतरी, सुप्पा, मचिया उपहार दिने चलन थियो”, हवलदार चौधरीले भन्नुभयो, “परम्परागत वस्तुहरू उपहारमा दिने चलन पनि हरायो, महुराइनको पातलाई पवित्र मानिने हुँदा पूजामा प्रयोग हुने दुना, टपरी पनि त्यही पातबाट बनाइन्थ्यो, त्यसको बदलामा अहिले सातको पातले काम चलाउने गरिन्छ ।” उनी भन्छन्, “आजका युवा छाता, रेनकोट र प्लास्टिकका सजिला सामानतर्फ आकर्षित छन्, सीप सिकाउने बूढापाका घट्दै जाँदा छतरीजस्ता मौलिक वस्तु लोप हुने अवस्थामा पुगेका छन, लोप हुँदै गएका छतरीलगायतका वस्तुको जगेर्ना गरी यस्ता हस्तकलाका सामग्रीको बजार प्रवर्द्धन गर्नुपर्छ ।”
छतरी थारु समुदायको केवल आवश्यकता होइन, पहिचान पनि भएकाले त्यसको संरक्षण नगर्ने हो भने भविष्यमा केवल तस्बिर वा सङ्ग्रहालयमा मात्रै सीमित हुने चिन्ता उनी व्यक्त गर्छन् । उनका अनुसार यसका लागि स्थानीय सरकार र सरोकारवाला निकायले समयमै सचेत भएर सीप संरक्षण कार्यक्रम र सांस्कृतिक जागरण अभियान सुरू गर्न आवश्यक छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया