सीमा सङ्घर्षमा कब्जामा लिएका सैनिकहरू फिर्ता गर्न थाइल्यान्डलाई कम्बोडियाकाे आग्रह

कम्बोडियाले बिहीबार थाइल्यान्डलाई २० सैनिक फिर्ता गर्न आग्रह गरेको छ । ती सैनिकलाई दशकौँको सबैभन्दा रक्तपातपूर्ण सीमा सङ्घर्षलाई रोक्न युद्धविराम भएको केही घण्टापछि कब्जामा लिइएको थियो ।
पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको मृत्यु भएपछि दुवै देशले मङ्गलबारदेखि युद्धविरामको सहमति गरेका थिए । विवादित सीमावर्ती मन्दिरहरूको दीर्घकालीन विवादले तिनीहरूक आठ सय किलोमिटर (पाँच सय माइल) सीमामा खुला युद्धमा परिणत भएको थियो ।
बुधबार दुवै पक्षले युद्धविराम उल्लङ्घनको आरोप लगाएपछि राति ७ः०० बजे (०००० जिएमटी) सम्म हिंसाको कुनै रिपोर्ट नभएको बैङ्ककले जनाएको छ ।
कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले बिहीबार २० जना सैनिकको रिहाइका लागि वार्ता भइरहेको बताउनुभयो
“हाम्रा सबै सैनिकहरूलाई सुरक्षित रूपमा र सकेसम्म चाँडो घर फिर्ता ल्याउनका लागि थाई पक्षसँग वार्ता जारी राख्न हामी सक्दो प्रयास गर्नेछौँ”, उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी थाई पक्षलाई सबै २० जना सैन्य कर्मचारीलाई सकेसम्म चाँडो कम्बोडिया फिर्ता पठाउन आह्वान गर्दछौँ ।”
उहाँका अनुसार युद्धविराम लागु भएको लगभग आठ घण्टापछि मङ्गलबार बिहान ७ः५० बजेतिर सेनालाई कब्जा गरिएको थियो ।
थाइल्यान्ड सरकारले बुधबार हिरासतमा लिइएका सैनिकहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानून र सैन्य नियमहरूअनुसार व्यवहार गरिएको र सीमा स्थिति स्थिर भएपछि फिर्ता गरिने बताएको छ ।
संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले दुवै छिमेकी मुलुकलाई आफ्नो युद्धविराम सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न र विश्वास र शान्ति निर्माण गर्न द्रुत कदम चाल्न आग्रह गर्नुभयो ।
“द्वन्द्वका मूल कारणहरू समाधान गर्ने प्रयासमा कूटनीतिक प्रयासहरू जारी रहँदा यो महत्त्वपूर्ण सम्झौतालाई दुवै पक्षले सद्भावका साथ पूर्ण रूपमा सम्मान गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि मलेसियामा शान्ति सम्झौता गरिएको थियो । थाइल्यान्ड र कम्बोडिया दुवैले भारी भन्सार शुल्कको धम्कीलाई टार्न व्यापारिक सम्झौताका लागि ट्रम्पलाई मनाउन खोजिरहेका छन् ।
जङ्गल र कृषि जमिनले घेरिएको पहाडी ग्रामीण सीमा क्षेत्रमा दुवै पक्षले जेट, रकेट र तोप आक्रमणसहित लडाइँ गर्दा करिब तीन लाख मानिसहरू आफ्नो घर छोडेर भागे ।
थाइल्यान्डले उसका १५ सैनिक र १५ नागरिकको मृत्यु भएको बताएको छ भने कम्बोडियाले आठ नागरिक र पाँच सैन्य मृत्युको पुष्टि गरेको छ ।
मृत्यु सङ्ख्या सीमामा अन्तिम ठूलो हिंसाको तुलनामा उल्लेखनीय रूपमा बढी छ । यसअघि सन् २००८ देखि २०११ सम्म छिटपुट लडाइँमा २८ जनाको मृत्यु भएको थियो ।















अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि : उपेन्द्र यादव
अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
राजनीतिलाई नयाँ र पुराना दलका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल
हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया