मंगलबार, वैशाख १५, २०८३

मन्त्री खड्काद्वारा मोटरेबल पुल उद्घाटन, संखुवासभामा ऊर्जा र पर्यटनमा तीब्र लगानीको घोषणा

मेरोन्यूज २०८२ साउन १५ गते २१:०२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले संखुवासभा जिल्लामा विकासका पूर्वाधारलाई तीव्रता दिँदै करिब ४ करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको मोटरेबल पुलको उद्घाटन गरेका छन् ।

Advertisement
NiccNicc

उद्घाटन कार्यक्रममा मन्त्री खड्काले स्थानीय यातायात सहज बनाउने अर्को पुल, सडक स्तरोन्नति तथा जलविद्युत् आयोजना र पर्यटकीय सम्भावनाहरूमा समेत उल्लेख्य लगानी हुने बताए ।

गृहजिल्ला संखुवासभाको सिलीचोङ गाउँपालिका–१ र २ लाई जोड्ने उक्त पुल संघीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा तीन वर्षको अवधिमा निर्माण सम्पन्न भएको हो। उद्घाटन कार्यक्रममा मन्त्री खड्काले संखुवा खोलामा अर्को नयाँ पुल निर्माणका लागि चालू वर्षमै ३ करोड रुपैयाँको बजेट विनियोजन भइसकेको जानकारी दिए। उनले छिट्टै टेन्डर प्रक्रिया अघि बढ्ने बताए।

यस्तै, मानेभञ्ज्याङ–चन्दनपुर–हेलुवा बेसी सडक खण्ड कालोपत्रे गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खड्काले यो वर्षभित्रै काम सम्पन्न गर्न व्यक्तिगत रूपमा पहल गर्ने प्रतिबद्धता जनाए।

ऊर्जा पूर्वाधारको सन्दर्भमा उनले सिलीचोङ गाउँपालिका भित्रै ५ देखि ७ वटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेको जानकारी गराउँदै ती आयोजनाबाट रोजगारी, आर्थिक विकास र स्थानीय पूर्वाधारमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

‘संखुवासभा केवल मेरो जन्मभूमि होइन, यसको समग्र विकासको जिम्मेवारी पनि मेरो काँधमा छ।’ मन्त्री खड्काले भने। साथै, उनले सिलीचोङलाई सोलुखुम्बुसँग जोड्ने वैकल्पिक नाका बनाउने सम्भावनाबारे पनि धारणा राखे, जसले पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

बुधवारेमा स्थायी प्रहरी चौकी स्थापना गर्न पहल भइरहेको र मकालु वरुण राष्ट्रिय निकुञ्जभित्र विकास कार्य गर्दा देखिने प्राविधिक ढिलाइलाई कम गर्दै व्यवस्थित सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको मन्त्री खड्काले जानकारी दिए।

प्रतिक्रिया