तिलोत्तमाका युवाले थाले प्राङ्गारिक मलको उत्पादन

रुपन्देही। रुपन्देही जिल्लाको तिलोत्तमाका युवाहरूले प्राङ्गारिक मलको उत्पादन सुरु गरेका छन्। यहाँका करिब २० युवा मिलेर ‘नेपाल वायो कम्पोस्ट प्रालि’ दर्ता गरी मानव स्वास्थ्य र माटोको अवस्थालाई ख्याल गर्दै प्राङ्गारिक मलको उत्पादन सुरु गरेका हुन्।
‘जैको’ नामबाट बजारमा आएको यस मलको प्याकेट आकर्षक बनाइएको छ। सबैको सहजताका लागि एक किलोको प्याकेट बनाएर बजारमा ल्याइएको युवा बताउँछन्। हेक्टर र बिघामा खेती गर्ने किसानदेखि लिएर गमलाको फूलका लागि यो मल सजिलै प्राप्त गरी प्रयोग गर्न सकिन्छ।
नेपाल वायो कम्पोस्ट कम्पनीले उक्त मल बजारमा ल्याएको हो। पछिल्लो समय रासायनिक मलको बढ्दो प्रयोगले मानव स्वास्थ्य र माटोको उर्वरा शक्तिलाई खराब गरिरहेको अवस्थामा युवाहरूको सक्रियतामा मलको उत्पादन सुरु भएको हो। जैविक मलको प्रयोगले विस्तारै माटोको गुणस्तरमा सुधार ल्याउन सकिने उद्देश्यले उत्पादनमा सक्रिय बनेको कम्पनीका सदस्य राहुल पन्थीले बताए।
‘यसका लागि अहिलेसम्म रु तीन करोड रकम लगानी गरिसक्यौँ, अब भने विस्तारै प्रतिफल आउने आशमा छौँ’, उनले भने।
रासायनिक मलको व्यापक प्रयोगले माटोको अवस्था जीर्ण बनिरहेको अवस्थामा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले उत्पादनमा जोड दिइएको उनको भनाइ छ।
‘धेरैले जानी–जानी रासायनिक मलको प्रयोग गरिरहेका छन्। यसले माटो, मानव स्वास्थ्य मात्र नभई वातावरणमा भएका समग्र जीवजन्तुलाई असर गरिरहेको छ। फलस्वरूप पारिस्थितिक प्रणाली प्रभावित भएर त्यसको असर वातावरणका सम्पूर्ण जीवले भोगिरहेका छन्’, उनले भने।
‘जैको’ प्राङ्गारिक मलको उत्पादनले मानवसँगै सम्पूर्ण जीवजन्तु र माटोले नयाँ जीवन प्राप्त गर्ने आशा रहेको कम्पनीका सदस्य पन्थीले बताए। दिनानुदिन रासायनिक मलका प्रयोगकर्ता बढिरहनु, रासायनिक मलले उत्पादन छिटो र बढी दिने वर्तमान अवस्थामा प्राङ्गारिक मलको प्रयोगलाई बढाउनु चुनौतीपूर्ण रहेको उनको भनाइ छ।
के हो ‘जैको’ मल?
यो मल एक प्रकारको सतप्रतिशत प्राङ्गारिक मल हो। माटोका लागि अति महत्त्वपूर्ण मानिएको यो मल प्राकृतिक तरिकाले बनाइने कम्पनीका कोषाध्यक्ष सुरेन्द्रकुमार गौतमले बताउनुभयो। यो मलको प्रयोगबाट बिरुवाको वृद्धि विकास भई उत्पादन पनि प्रशस्त हुने उनले उल्लेख गरे।
‘यसमा गाईभैँसीको गोबर, वनजङ्गका अनावश्यक झारपात (औषधीय गुणले भरिपूर्ण), विभिन्न बालीका अनावश्यक झारपातलगायत वस्तु कुँहाएर प्राकृतिक तरिकाले मल उत्पादन गरिन्छ। यसमा पर्याप्त मात्रामा नाइट्रोजन, फोस्फरस, पोटासियम (एनपिके) र बिरुवाको वृद्धि विकासका लागि आवश्यक सूक्ष्म पोषक तत्वहरू पाइन्छन्’, गौतमले भने।
प्राङ्गारिक मलको प्रयोगले माटोको गुणस्तर सुधार गर्ने माटो विज्ञ एवं कम्पनीका उपाध्यक्ष लोकेन्द्र घर्ती मगरले बताए। ‘यो गन्धरहित, पर्यावरणमैत्री र विषादीरहित बनेको छ। फूलका लागि प्रतिबिरुवा २०० ग्राम, फलफूलका लागि प्रतिबोट एक किलो , तरकारीका लागि प्रतिबोट २०० ग्राम आवश्यक पर्दछ। प्रयोग भएको प्याकेटलाई बन्द गरी सूर्यको प्रकाश र चिसोबाट टाढा राख्नु पर्दछ’, उनले भने।
यो मलमा भएका खाद्य तत्वहरू पानीमा घुलनशील हुने भएकाले बिरुवाले ती तत्वलाई सजिलैसँग प्राप्त गर्ने मगरले जानकारी दिनुभयो। यो मलमा भिटामिन, हर्मोनका साथै माटो र बिरुवाका लागि चाहिने अतिआवश्यक पोषक तत्व र जैविक गतिविधि बढाउने सूक्ष्म जीवहरू पर्याप्त मात्रामा हुने भएकाले अरु मलभन्दा गुणस्तरीर रहेको उनले दाबी गरे।
‘औषधीय गुण भएका पातपतिङ्गर, फोहर वस्तुबाट यो मल बनाइने भएकाले वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्छ। यसले बिरुवाको रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकाले उत्पादनमा वृद्धि हुन्छ। साथै माटोको गुणस्तरमा सुधार ल्याउनुका साथै माटो क्षयीकरण हुनबाट जोगाउछ’, विज्ञ मगरले भने।
कम्पनीले दैनिक करिब डेढ टन मल उत्पादन गरिरहेको सदस्य शान्ति मगरले जानकारी दिनुभयो। सुरुआती चरण भएकाले माग अनुसार मल बजारमा पुर्याउन नसकिएको उनको भनाइ छ।
खेतीको याममा बढी खपत हुने भएकाले मागअनुसार अपूर्ति गर्न नसकिएको कम्पनीका अध्यक्ष यमबहादुर थापाले बताए। उनका अनुसार जैको मल रुपन्देहीसहित पाल्पा, कपिलवस्तु, गुल्मी, नवलपरासी र स्याङ्जामा खपत हुने गरेको छ।
















सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी
प्रतिनिधि सभा सदस्य निर्वाचन : कतिले गराए उम्मेदवारी दर्ता ?
Former PM Dr Bhattarai files candidacy for HoR polls
UML Chair and former PM Oli files nomination for HoR polls from Jhapa-5
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया