शुक्रबार, वैशाख ११, २०८३

भरतपुर आँखा अस्पतालमा ९० प्रतिशत भारतीय बिरामी

मेरोन्यूज २०८२ साउन २५ गते १६:२५

चितवन। नेपाल नेत्रज्योति सङ्घ चितवनले ठोरीमा सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा उपचार गराउनेमध्ये ९० प्रतिशत बिरामी भारतीय हुने गरेका छन्। भारतीय सीमाबाट १०० किलोमिटरसम्म टाढाबाट बिरामी आँखा उपचारका लागि ठोरी आइपुग्ने गरेका छन्।

Advertisement
NiccNicc

अस्पतालका इञ्चार्ज अङ्कीत श्रीवास्तवका अनुसार गत आर्थिक वर्षमा बहिरङ्ग सेवामा उपचार गराएका १६ हजार २८४ जनामध्ये १४ हजार १८ जना भारतीय नागरिक थिए। सो अवधिमा ८३९ जनाको आँखाको शल्यक्रिया गरिएको थियो। अघिल्लो आर्थिक वर्षमा १५ हजारले सेवा लिएका थिए।

विशेषगरी भारतको पश्चिमी चम्पारण क्षेत्रका बिरामीहरू ठोरीमा सहज, नजिक र सस्तो उपचार पाउने भएकाले आकर्षित हुने गरेको श्रीवास्तवले बताए। बहिरङ्ग (ओपिडी) सेवाका लागि बिरामीले रु ८० मा परीक्षण गराउन पाउँछन्।

भारतीय बिरामीमध्ये धेरैजसो मोतियाबिन्दु र आँखाको नानीमा चोटपटकका समस्या लिएर आउने गर्छन्। आवश्यक परे कम शुल्कमा उच्चस्तरको शल्यक्रिया हुने भएकाले भारतीय बिरामीको संख्या बढ्दो क्रममा रहेको अस्पताल सञ्चालक समितिका कार्यवहाक अध्यक्ष तेजेन्द्र खड्काले बताए।

ठोरीमा सेवा नपाउने बिरामीले अन्यथा गोरखपुर पुग्नुपर्ने हुन्छ। दाताको सहयोग पाउने भएकाले अस्पतालले कम शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउन सकेको खड्काले बताए।

आवश्यक परे बिरामीलाई भरतपुर आँखा अस्पताल पुर्‍याएर उपचार गर्ने वा भरतपुरका विज्ञ चिकित्सक ठोरीमै गएर सेवा दिने प्रचलन रहेको छ। भरतपुर आँखा अस्पतालले हाल विभिन्न जिल्लाका २५ स्थानबाट सेवा दिइरहेको छ।

प्रतिक्रिया