भाषाको संरक्षण घरबाटै हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको मातृभाषा लोप हुँदै गएकाले मातृभाषा संरक्षण र पुस्तान्तरण अभियान घरबाट सुरु गर्नुपर्नेमा जोड दिए । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित गुरुङ भाषाको ‘तमू कए’ पत्रिका सार्वजनिक कार्यक्रममा मन्त्री गुरुङले बसाइँसराइका कारण गुरुङ भाषा र संस्कृति लोप हुने खतरा बढ्दै गएको बताए ।
कुनै समुदायको अस्थित्व उसको भाषा र संस्कृतिमा झल्किने हुँदा गुरुङ समुदायले मातृभाषा संरक्षण र पुस्तान्तरणमा विशेष पहल गर्नुपर्ने उनको भनाइ छ । “कुनै पनि भाषाको संरक्षण घरबाटै सुरु हुन्छ”, उनले भने, “तमू भाषा र योसँग जोडिएको मौलिक संस्कृति जोगाउने अभियान सुरु गरिहाल्नुपर्ने जरुरी छ । अहिदे संरक्षणसँगै पुस्तान्तरणमा जोड दिएनौँ भने हाम्रा पुर्खाले आर्जेको कला, संस्कृति र भाषा लोप हुँदै जानेछ ।”
प्रतिष्ठानले तमू भाषाको पत्रिका पहिलो पटक प्रकाशन गरेकामा धन्यवाद दिँदै मन्त्री गुरुङले यो पहल सकारात्मक देखिए पनि मुख्य भाषालाई जीवन्त राख्ने आधार परिवार र समुदाय हुनपर्नेमा जोड दिनुभयो । उनले भने, “प्रतिष्ठानले पत्रिका निकाल्नु इतिहास हो । तर, वास्तविक भाषा संरक्षण घरबाट सुरु हुनुपर्छ र यसलाई पुस्तान्तरण गर्दै जानुपर्छ ।” मन्त्री गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउनुको मुख्य उद्देश्य समतामूलक समाज र समावेशी चरित्रको अभ्यास गर्नु रहेको उल्लेख गरे।
सङ्घीय शासन प्रणालीमा सबैको स्वामित्व महसुस गराउने उद्देश्यले आरक्षण, समावेशी नीति ल्याइएको बताउँदै उहाँले गुरुङ समुदायले यो अवसरलाई भरपुर उपयोग गर्न नसकेको गुनासो गरे। उनले संविधानले दिएका समावेशीका अवसरलाई उपयोग गरेर राज्यको मूलधारमा पुग्न गुरुङ समुदायले जोड गर्नुपर्ने सुझाव दिए ।
आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रतिष्ठानमार्फत जनजातिको भाषा, संस्कृति, कला र जीवनशैलीको दस्ताबेजीकरण गर्ने कार्य हुँदै आएको बताए । जनजातिलाई निजामती सेवामा पहुँच वृद्धि गर्न निःशुल्क लोकसेवा तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले निजामती सेवामा गुरुङ समुदाय न्यून उपस्थिति हुनु चिन्ताको विषय भएको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानप्रति सबै समुदायको साझा अनुभूति गराउन मातृभाषाका पत्रिका प्रकाशन गर्न जरुरी रहेको बताए ।
यो अभियानलाई प्रतिष्ठानले ढिलै भए पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख राजन मुकारुङले नेपालमा भएका विभिन्न मातृभाषामध्ये, चार वटा भाषाका मातृभाषा पत्रिका अहिलेसम्म प्रकाशन भएका जानकारी दिए । ‘तमू कए’ पत्रिकाका कार्यकारी सम्पादक अनिता गुरुङले गुरुङ भाषा बोल्न सकिने भए पनि लिपीमा उतार्न चुनौतीपूर्ण भएको अनुभव सुनाए । पत्रिकामा गाउँघरमा बोलिने, ठेट भाषा र त्यहाँका मौलिक कला, संस्कृति समेटिएको उनले बताए ।
















आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया