शनिबार, कार्तिक २९, २०८२

१०० घण्टाभित्र एक लाख युनिटभन्दा बढी रगत सङ्कलन

मेरोन्यूज २०८२ भदौ १० गते १९:३६

बुटवल । विश्व बन्धुत्व र शान्तिको कामना गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले नेपाल र भारतका विभिन्न केन्द्र, शाखा तथा इकाइहरूमार्फत एकै पटक एक लाख युनिटभन्दा बढी रगत सङ्कलन गरेको छ ।


राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा ‘विश्व बन्धुत्व दिवस’को अवसरमा ‘विशाल रक्तदान महाअभियान–२०२५’ अन्तर्गत १०० घण्टाभित्र नेपाल र भारतका सयौँ स्थानमा रक्तदान भएको हो ।


नेपालका १३४ स्थानसहित भारतका विभिन्न क्षेत्रमा भदौ ६ देखि ९ गतेसम्म सञ्चालन गरिएको उक्त अभियानमा उत्साहपूर्वक सहभागिता भएको बुटवलस्थित ब्रह्माकुमारी प्रशिक्षण केन्द्रकी प्रमुख राजयोगिनी कमला दिदीले जानकारी दिइन् ।


अभियानको समापन रुपन्देही क्षेत्र नं. १ का सङ्घीय सांसद तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले गरे । उनले रक्तदान महाअभियानले मानवता, बन्धुत्व र शान्तिको सन्देश दिएको भन्दै अभियानलाई निरन्तरता दिन आग्रह गरे ।


साथै, योग, ध्यान र सात्वीक भोजनमार्फत मानसिक स्वास्थ्य प्रवर्द्धनमा योगदान दिँदै आएको ब्रह्माकुमारी संस्थाको प्रशंसा पनि गरे ।

‘रक्तदान गरौँ, जीवन बचाऔँ; सहयोगको भावना सबैमा जगाऔँ’ भन्ने मूल नारासहित बुटवल, सैनामैना, देबदह, गुल्मीको तम्घास, कपिलवस्तुको वाणगंगा, देवीनगर, नवलपरासी, नेपालगञ्ज, काठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, धनगढी, दाङलगायत स्थानमा कार्यक्रम सञ्चालन भएको थियो ।

बुटवलमा आयोजित कार्यक्रममा स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्री, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रूपन्देहीका टेकबहादुर थापा, विश्व हिन्दु महासङ्घका वरिष्ठ उपाध्यक्ष बेनबहादुर पौडेल क्षेत्रीसहितका वक्ताहरूले रक्तदानको आवश्यकता र सामाजिक महत्वबारे धारणा राखेका थिए ।

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले विगत ५५ वर्षदेखि शान्ति, सद्भाव, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक–आध्यात्मिक मूल्यको प्रवर्द्धन गर्दै आएको छ । धूम्रपान, मद्यपान र लागूपदार्थमुक्त समाज निर्माणमा समेत संस्थाले उल्लेखनीय योगदान दिएको बताइएको छ ।

सन् १९३६ मा भारतको हैदराबाद सिन्धमा स्थापना भएको संस्थाको मुख्यालय हाल राजस्थानको माउण्ट आबूमा रहेको छ । हाल यसले विश्वका १४० देशमा फैलिएको र ८ हजार ५ सयभन्दा बढी सेवा केन्द्रमार्फत ध्यान, शान्ति र मानसिक स्वास्थ्य प्रवर्द्धनमा कार्यरत रहेको जानकारी दिइएको छ । नेपालमा मात्रै यसका करिब १ हजार ५ सय शाखा रहेका छन् ।

महाअभियानले रक्तदानलाई केवल स्वास्थ्य सहयोगको कार्य मात्र नभई मानवीय एकता र विश्व बन्धुत्वको सशक्त सन्देशका रूपमा प्रस्तुत गरेको उत्प्रेरक प्रशिक्षक ब्रह्माकुमार ऋषि न्यौपानेले बताए ।

प्रतिक्रिया