लोकगायक विष्णु खत्रीले ल्याए दसैँगीत ‘प्यारो गाउँघरमा’

गण्डकी । लोकगायक विष्णु खत्रीले २०६४ सालयता बर्सेनि दसैँगीत सार्वजनिक गर्दै आएका छन् । यसपालिको दसैँमा उनले ‘प्यारो गाउँघरमा’ गीत पाठक/स्रोतामाझ ल्याएका छन्। यो खत्रीको अठारौँ दसैँगीत हो । ‘प्यारो गाउँघरमा’मा खत्री र देवी घर्ती मगरले स्वर दिएका छन् ।
खत्रीको शब्द र संगीत रहेको उक्त गीतको म्युजिक भिडियोमा कलाकार ओभी रायमाझी र सारिका केसीको अभिनय छ । खत्रीका अधिकांश दसैँगीतमा प्रवासी नेपालीका दुःख, वेदनालाई समेटिएको पाइन्छ । परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा दसैँगीत सृजना गर्दै आएको खत्री बताउछन् । उनका गीतले चाडबाड आएको छनक दिन्छन् । मार्मिक सृजना र ग्रामीण परिवेशको झझल्को खत्रीका गीतका विशेषता हुन् । गीतको म्युजिक भिडियो छायाँकनस्थलदेखि कलाकार छनोटसम्ममा त्यसको छनक पाइन्छ । गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन उनी पारङ्गत छन् । आफ्ना हरेक सृजनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास गर्दै आएको खत्रीको भनाइ छ ।
“दसैँगीत मेरो साङ्गीतिक जीवनको पर्यायजस्तै बनेको छ, विगत १८ वर्षदेखि यसलाई निरन्तरता दिएको छु”, उनले भने ।
दुई दशकभन्दा बढी समयदेखि लोकसङ्गीतमा सक्रिय खत्रीले दसैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक गर्दै आएका छन् । अघिपछि पनि उनी समाजका विविध मुद्दालाई गीतमा उठान गरिरहेका छन् । गत वर्षको दसैँमा खत्रीले ‘रित्तो भकारी’ गीत ल्याएका थिए । त्यसअघि उनका ‘दसैँतिहार गाउँमा’, ‘दसैँतिहारसँगै मनाउँला’, ‘रिनै रिनको’, ‘दसैँमा आउ प्यारा’, ‘जहाजको टिकट’, ‘कति रुनी हो’लगायत गीत सार्वजनिक भएका थिए । प्राय: सबै गीतमा शब्द र सङ्गीत पनि गायक खत्रीकै रहेको छ ।
विसं २०६४ मा सार्वजनिक पहिलो दसैँगीत ‘सुनको जलप’मा खत्रीलाई गायिका बिमाकुमारी दुराले साथ दिएकी थिइन् । पछिल्ला गीतमा उनले विभिन्न गायिकाहरूसँग सहकार्य गर्दै आएका छन् । अठार वर्षदेखि लगातार दसैँलक्षित गीत सार्वजनिक गरेका खत्री दसैँगीतका पर्यायका रूपमा चिनिन थालेका छन्। उनका गीतमा परदेशिएका नेपालीको भोगाइ र उनीहरूको मनोदशाको सजीव प्रस्तुति पाइन्छ । बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मिएका खत्रीका दसैँगीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि सास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत दर्जनौँ लोक तथा दोहोरी गीत चर्चित छन् ।









निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
निर्वाचन आयोगले तोक्यो ३ सहायक प्रवक्ता
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
प्रतिक्रिया