शवदाह भवनसहितका आयोजना भरतपुर महानगरलाई हस्तान्तरण

सघन शहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरपालिका–१ देवघाटमा निर्माण सम्पन्न विद्युतीय शवदाह गृहसहितका विभिन्न शहरी पूर्वाधार विकास आयोजना शुक्रबार महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
देवघाटमा आयोजित कार्यक्रममा आयोजनाले विद्युतीय शवदाह भवन, मलामी प्रतीक्षालय, बसपार्क, टर्मिनल भवन तथा फुटपाथ निर्माण कार्यसहितका पूर्वाधार औपचारिक रूपमा महानगरको जिम्मा लगाइएको हो ।
आयोजनाका प्रमुख झपटबहादुर थापाका अनुसार शवदाह गृह तथा मलामी प्रतीक्षालय ३ माघ २०७५ मा सम्झौता भई ३० साउन २०८२ मा सम्पन्न भएको हो । सम्झौता रकम १० करोड ३६ लाख ५७ हजार ८११ रहे पनि निर्माण सम्पन्न गर्न कुल १२ करोड ६४ लाख ८९ हजार ७८४ रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।
शवदाह भवनमा भुईंतलामा मलामी प्रतीक्षालय र पहिलो तलामा दुई शवदाह (सेमाटोरियम) मेसिन, अफिस, प्रतीक्षालय र ‘मर्च्युरी’ कक्ष रहेका छन् । विद्युतीय शवदाह मेसिनले अधिकतम ९० मिनेटमा एक शव जलाउन सक्ने क्षमता राख्छ । साथै, चारवटा शव एकसाथ राख्न मिल्ने गरी ‘फ्रिज’ प्रणाली, जेनेरेटर, चिम्नीलगायतका आवश्यक उपकरण पनि जडान गरिएका छन् ।
बर्सात्को समयमा पानीको सतह बढ्ने भएकाले उपकरण माथिल्लो तलामा स्थापना गरिएको छ । भवनमा शौचालय, स्नानघर तथा अन्य आवश्यक सुविधा पनि उपलब्ध छन् । आवश्यक परे भुईंतलामा क्रियापुत्री बस्ने व्यवस्था गर्न सकिने थापाले बताए ।
आयोजनाअन्तर्गत देवघाट क्षेत्रमा बसपार्क, टर्मिनल भवन, फुटपाथलगायतका संरचना देवघाटसँगै महानगरका विभिन्न स्थानमा निर्माण गरिएको छ । यी सबै परियोजनाको लागत करिब ३३ करोड ८० लाख ७५ हजार ४८७ रहेको आयोजनाले जनाएको छ ।
थापाका अनुसार शवदाह गृह सञ्चालन तथा मर्मत–सम्भारका लागि आयोजनापक्षले एक वर्षसम्म सहयोग र निगरानी गर्नेछ । साथै, महानगरले पठाउने जनशक्तिलाई आवश्यक तालिम प्रदान गरिनेछ ।
कार्यक्रममा महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारीले महानगरले शवदाह गृहको सञ्चालन र व्यवस्थापन जिम्मेवारीका साथ गर्ने प्रतिबद्धता जनाए ।
महानगर प्रमुख रेनु दाहालले भरतपुरमा पछिल्ला वर्षमा धेरै विकास आयोजना सम्पन्न भएको जनाउँदै नमुना शहरको अवधारणाअनुरूप समग्र विकास कार्य अघि बढिरहेको धारणा व्यक्त गरे । उनले विकास निर्माणका क्रममा देखिएका विभिन्न प्रशासनिक र प्राविधिक चुनौतीका बाबजुद महानगरले परिणाममुखी काम गरेको उल्लेख गरे ।
















सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता
बागलुङ कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
Tipper driver dies from electrocution in Siraha
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
प्रतिक्रिया