कार्तिक कृष्ण अमावास्यः श्रद्धा भक्तिपूर्वक गरियो लक्ष्मीपूजा

काठमाडौँ। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन सोमबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजाआराधना गरी श्रद्धा भक्तिका साथ लक्ष्मीपूजा पर्व मनाइएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण औँसीको साँझ विधिपूर्वक सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
लक्ष्मी पूजाका लागि सोमबार साँझ आँगन, मूलढोका हुँदै लक्ष्मी स्थापना गर्ने पूजाकोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अविरले लक्ष्मीको पाइला बनाएर लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाउँदै लक्ष्मीपूजा गर्ने परम्परा छ ।
दीपमालिकासमेत गरेर मनाइने यो पर्वमा दीपावली गरिसकेपछि पूजाकोठामा दीयो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरी गरगहना, पैसा पूजा गर्नुका साथै फलफूल, सेलरोटी र फूलमाला चढाइएको छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरेर दक्षिणासमेत दिने गरिन्छ । सोमबार घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वाससमेत छ ।
घरका साथै व्यापारिक प्रतिष्ठानमा विधिपूर्वक लक्ष्मीपूजा गरिएको छ । यसअघि गरिएको दीपावलीले काठमाडौँ उपत्यकासहित प्रमुख सहर उज्यालोले झिलिमिलि बनेको छ । उज्यालोले घरबाहिरको वातावरण उल्लासमय बनेको छ । उपत्यकामा दशैँको भन्दा बढी चहलपहल तिहारमा देखिएको छ । यसैले लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर पर्ने चार प्रमुख रात्रिमध्ये यो पनि एक रात्रि हो ।
सोमबार साँझ युवायुवतीहरूले समूह बनाई घरघरमा भैलो खेलेका छन् । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताउनुभयो । “भलो होस् भन्ने शब्द अपभ्रंश भई समयक्रममा भैलो हुन आएको हो, सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा बसेको हो”, उनले भने ।
कर्णाली प्रदेशको खसराज्यमा शासन गरेका बलिराजाले भैलोको चलन चलाएको भनी त्यस क्षेत्रमा चर्चा हुने गरेको छ । यो पर्वमा भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटीसमेत दिने गरिन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा नकारात्मक असर गर्ने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको प्राडा गौतमले बताए ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा सोमबार बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि धार्मिक विधिपूर्वक लक्ष्मीपूजा गरिएको प्राडा गौतमले जानकारी दिनुभयो । उनका अनुसार विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने जनविश्वास रहेकाले सोहीअनुसार लक्ष्मीपूजा गरिएको हो ।
















भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया