संविधानको रक्षाका लागि समर्पित हुन कांग्रेस कार्यवाहक सभापति खड्काको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु भएर मुलुक, जनता र संविधानको रक्षाका लागि समर्पित हुन आग्रह गरेका छन् ।
नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उनले नेपाल इतिहासकै प्रतिकूल अवस्थामा उभिएको र कांग्रेस पार्टीसमेत प्रतिकूल अवस्थामा रहेको उल्लेख गर्दै देश जोगाउन सङ्कल्पसहित अगाडि बढ्न आग्रह गरे ।
‘शान्ति, सुशासन कायमका लागि जेन जेड युवाले गरेको शान्तिपूर्ण आन्दोलन घुसपैठ हुँदा मुलुकले ठूलो विपत्ति सामना गर्नुपर्यो, भदौ २४ गते देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामाथि आक्रमण गरेर ध्वस्त बनाइयो, जनतालाई अधिकार सम्पन्न बनाउन लागेका सन्तनेताको आश्रम खरानी बनाइयो, देशको सिङ्गै राज्यप्रणालीमाथि आक्रमण गरेर प्रतिकूल अवस्थामा पुर्याइयो,’ उनले भने ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको संरक्षण गरेको भन्दै कार्यवाहक सभापति खड्काले उनको प्रशंसा गरे । उनले प्रतिकूल अवस्थामा नेपाल तरुण दलको स्थापना दिवस मनाउँदै गरेको अवस्थामा धैर्य भएर एकताबद्ध हुँदै सङ्गठित भएर सुशासन र समृद्धिको अभियानमा लाग्न आग्रह गरे ।
कार्यवाहक सभापति खड्काले एकताको भावबाट चालु केन्द्रीय समितिको बैठकबाट पार्टीको नियमित अधिवेशन, देशको निर्वाचन, भ्रातृ संस्थाका निर्वाचनलगायतलाई सम्बोधन गर्नेगरी बृहत् एकताका माध्यमबाट प्रतिकूलतालाई चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले राष्ट्रिय एकता र संविधानको रक्षाका लागि मुलुकको सबै दल र पक्षहरूलाई एकताबद्ध गर्ने प्रस्ट मार्गदर्शनका साथ भरोसायोग्य कदम नेपाली कांग्रेसले चाल्ने विश्वास दिलाए ।
नेपाली जनता र राष्ट्रले कांग्रेससँग धेरै आशा, अपेक्षा र भरोसा गरेको भन्दै जनतामा रहेको सार्वभौमसत्ताको रक्षाका लागि एकताबद्ध भएर लाग्न सभापति देउवाले जिम्मेवारी प्रदान गरेको भन्दै कार्यवाहक सभापति खड्काले संयमता र धैर्यताका साथ सबैलाई मिलाएर विगतका कमजोरीलाई केलाएर समीक्षा गर्दै बृहत् एकताद्वारा अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे ।
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विसं २०१० साल कात्तिक १० गते गठन भएको तरुण दलले कांग्रेसको हितका साथै मुलुक र जनताको पक्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । तरुण दलले आफ्नो स्थापना दिवसका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको छ ।
















एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया