भारतमा चक्रवात ‘मोन्था’ को प्रभावः विद्यालय बन्द, हजारौँ नागरिक सुरक्षित स्थानमा सारिए

भारतको पूर्वी तटलाई लक्षित गर्दै अगाडि बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’ का कारण अधिकारीहरूले विद्यालयहरू बन्द गरेका छन् र तटीय क्षेत्रमा रहेका हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । बङ्गालको खाडीमा विकसित भएको यो चक्रवात अहिले ‘गम्भीर चक्रवाती आँधी’ मा परिणत भइसकेको छ र दक्षिणी आन्ध्र प्रदेशको बन्दरगाह सहर काकीनाडा नजिकै मङ्गलबार राति अवतरण हुने अनुमान गरिएको भारतीय मौसम विभाग (आइएमडी) ले जनाएको छ ।
हाल यो आँधी आन्ध्र प्रदेशको मचिलीपट्टनमबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा घुमिरहेको छ । मौसमविद्हरूका अनुसार, चक्रवातको तीव्रता अझ बढ्दै जाने र यसले ९० देखि ११० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावा ल्याउने सम्भावना छ । आन्ध्र प्रदेशका १९ जिल्लामा अत्यधिक वर्षाको चेतावनी दिँदै रेड अलर्ट जारी गरिएको छ भने छिमेकी तमिलनाडु, तेलङ्गाना, केरला र कर्नाटकमा पनि मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।
राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार, तटीय क्षेत्रका करिब ३८ हजार मानिसलाई सुरक्षित राहत शिविरहरूमा सारिएको छ । आन्ध्र प्रदेश सरकारले करिब ४० लाख मानिस जोखिम क्षेत्रमा रहेको र चक्रवातबाट प्रत्यक्ष रूपमा प्रभावित हुने अनुमान गरेको छ । राज्य सञ्चार मन्त्री नारा लोकेशका अनुसार, एक हजार ९०६ राहत शिविर र ३६४ विद्यालय आश्रयका रूपमा तयारी गरिएको छ भने एक हजार २३८ कमजोर गाउँमा निकासी अभियान जारी छ ।
अधिकारीहरूले बुधबारसम्म विद्यालय र कलेज बन्द गर्न आदेश दिएका छन् । माछा मार्नेहरूलाई समुद्रमा नजान चेतावनी दिइएको छ भने मङ्गलबार रेल र उडान सेवामा पनि आंशिक अवरोध भएको छ । छिमेकी उडिसा राज्यमा पनि प्राधिकरणले करिब ३२ हजार मानिसलाई जोखिम क्षेत्रबाट सुरक्षित शिविरमा सार्न सुरु गरेको बताइएको छ ।
जलवायु विज्ञहरूका अनुसार, दक्षिण एसियामा यस्ता गम्भीर आँधीबेहरीहरू पछिल्ला वर्षहरूमा बढी तीव्र र अनियमित हुँदै गइरहेका छन् । तातो तापक्रम र हरितगृह ग्यासहरूले उत्पन्न गरेको ग्लोबल वार्मिङले यस्ता चक्रवातलाई अझ चरम बनाइरहेको वैज्ञानिकहरूले बताएका छन् । भारतको पूर्वी तट क्षेत्र चक्रवातप्रति संवेदनशील मानिन्छ । सन् २०२३ मा भारतले हालसालैको इतिहासकै सबैभन्दा विनाशकारी चक्रवातको सामना गरेको थियो, जसमा ५२३ जनाको ज्यान गएको र करिब दुई अर्ब ५० करोड अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको थियो ।
















ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया