बिहीबार, वैशाख १७, २०८३

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

मेरोन्यूज २०८२ कार्तिक २१ गते १२:५४

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक सौराहामा सुरु भएको छ । बिस्तारित बैठक सुरु हुनुअघि आज बिहान पार्टीको केन्द्रीय समितिको बैठकले कार्यतालिका अनुमोदन गरेको हो ।

Advertisement
NiccNicc

पार्टीका प्रवक्ता मनिस झाका अनुसार कार्यतालिकासँगै पार्टीको आन्तरिक र राजनैतिक विषयमा छलफल भएको हो । केन्द्रीय समितिको बैठकपछि विस्तारित बैठक सुरु भएको उनले बताए । दुई दिन चल्ने बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधिसम्बन्धी प्रतिवेदन पेस गर्ने तालिका रहेको छ ।

विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ । बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक र अर्का उपसभापति डा स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि प्रतिबद्धता पत्रको मस्यौदा पेस गर्नेछन् ।

बैठकमा प्रदेश सभापतिहरूले प्रदेशभित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्था बारेमा धारणा राख्नेछन् । पार्टीका केन्द्रीय सदस्य राजन गौतमका अनुसार बैठकमा पेस गरिएका प्रतिवेदनमाथि प्रतिनिधिहरूले सुझाव राख्ने र ती सुझावलाई समेत समेटेर परिमार्जन गर्नुपर्ने देखिए परिमार्जनसहित विस्तारित बैठकले पारित गर्ने छ ।

बैठकमा पार्टीले आगामी फागुनमा तोकेको महाधिवेशनका बारेमा पनि छलफल हुने जनाइएको छ ।

बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी सङ्गठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५१२ जना प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया