मंगलबार, फागुन १९, २०८२

भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर संकटमा

मेरोन्यूज २०८२ मंसिर २ गते १२:३६

भारतको महाराष्ट्र राज्यका दूरदराजका खडेरीपीडित गाउँहरूमा रहेका बालिकाहरू शिक्षा र बाँच्नका लागि गरेको सङ्घर्षबीच दुविधामा परेको मार्मिक यथार्थ सतहमा आएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रत्येक बिहान १७ वर्षीया रमाती मङ्गला झर्ना गाउँबाट धेरै किलोमिटर टाढासम्म नाङ्गो खुट्टा हिँड्दै पानी ल्याउन स्टिलको भाँडो लिएर प्रस्थान गर्नुहुन्छ । जब उहाँ घर फर्कनुहुन्छ, तबसम्म विद्यालय सुरु भएर सकिनै लागेको हुन्छ ।

“मेरो पुस्तकहरू सुरक्षित राखेको छु”, उनले भने, “तर कहिल्यै समयमै फर्कने मौका पाइन भने के हुन्छ ?”

महाराष्ट्रका नासिक र नन्दुरबार जिल्लामा कुवाहरू सुक्दै गएका छन् र वर्षा दिनप्रतिदिन अनियमित बन्दै गएको छ, जसले स्थानीय बासिन्दाहरूलाई कठोर जीवनस्थितिको सामना गर्न बाध्य पारेको छ ।

कामको खोजीमा पुरुषहरू नजिकका सहरतिर रोजगारीका लागि गएपछि मङ्गला जस्ता किशोरीहरूलाई घर–परिवारका लागि पानी जुटाउने जिम्मेवारीअनुसार भारी बोझ वहन गर्नुपर्ने बाध्यता छ । दैनिक घन्टौँ लाग्ने यो कामले विद्यालयमा हाजिरी राख्न अत्यन्तै कठिन बनाइदिएको छ ।

स्थानीय अधिकारीहरूको अनुमानअनुसार यी क्षेत्रका करिब २० लाख जनसङ्ख्याले दैनिक पानीको अभाव भोगिरहेको छ । सन् २०२१ मा प्रकाशित युनेस्कोको प्रतिवेदनले जलवायुजन्य अवरोधहरूले विश्वभर लाखौँ बालिकाहरूलाई शिक्षाबाट वञ्चित गराउने खतरा रहेको चेतावनी दिएको थियो । भारतका ग्रामीण बस्तीहरूमा सो प्रतिकूल प्रभाव पहिले नै स्पष्ट रूपमा देखिन थालेको शिक्षकहरू बताउँछन् ।

हालैका वर्षहरूमा विशेषतया सुक्खा महिनामा विद्यालयमा बालिकाहरूको उपस्थिति तीव्र रूपमा घटेको छ । पारिवारिक जीविकोपार्जनको सङ्कटले धेरै अभिभावकहरू बाध्य भएर छोरीहरूलाई घरमै राख्नुपर्ने वा चाँडै विवाह गरिदिनुपर्ने विकल्पमा पुगेका छन् ।

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ, “सुक्खाग्रस्त क्षेत्रमा बस्ने बालबालिकाहरू, विशेष गरी पानी ल्याउने दायित्व पाएका बालिकाहरू विद्यालयमा नियमित हाजिर हुन निकै कठिनाइ भोग्छन्, किनकि पानीको कमी र प्रदूषणका कारण पानी सङ्कलन गर्न लाग्ने समय झनै बढ्दो छ ।”

भारतभरका किशोरीहरूको जीवनमा जलवायु परिवर्तनले पानी ल्याउने जस्तो सामान्य दैनिक कार्यलाई अब अस्तित्व र शिक्षाबीचको गम्भीर छनोटमा परिणत गरिदिएको छ ।

मङ्गलाको कथालाई २५ वर्ष वा सोभन्दा कम उमेरका दक्षिण एसियाली फोटोग्राफरहरूका लागि खुला २०२५ माराई फोटो ग्रान्टमा फोटोग्राफर शेफाली रफीकले आफ्नो फोटोग्राफी शृङ्खलामार्फत उजागर गर्नुभएको छ ।

सन् २०२५ को विषयवस्तु ‘जलवायु परिवर्तन’ र यसले दैनिक जीवन तथा त्यसमा संलग्न फोटोग्राफरहरूको समुदायलाई पारेको प्रभावमा केन्द्रित थियो ।

एजेन्सी फ्रान्स–प्रेस (एएफपी) ले आफ्ना दिवङ्गत काबुल ब्युरो प्रमुख तथा अफगान फोटोग्राफीका प्रेरणादायी व्यक्तित्व शाह माराईको सम्मानमा यो पुरस्कार स्थापना गरेको हो । शाह माराईको सन् २०१८ अप्रिल ३० मा काबुलमा भएको आत्मघाती आक्रमणमा ४१ वर्षको उमेरमा कर्तव्यपालनका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया