शनिबार, फागुन १६, २०८२

१ खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम

मेरोन्यूज २०८२ मंसिर ८ गते ७:५३

काठमाडौ । सरकारले नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुरु गरेको सामाजिक सुरक्षा कोषमा झण्डै एक खर्ब रुपैयाँ बराबरको योगदान रकम पुगेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कोषका अनुसार हालसम्म कुल योगदान रकम ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार ३६२ रुपैयाँ बराबर पुगेको छ । कोषमा हालसम्म सूचीकृत रोजगारदाता २२ हजार ३०९ पुगेका छन् । यस्तै, सूचीकृत योगदानकर्ता २६ लाख ४१ हजार १८९ बराबर पुगेको छ । कोषले हालसम्म १७ अर्ब ६४ करोड ८८ लाख ३४ हजार ६८४ रुपैयाँ बराबरको रकम दाबी भुक्तानी गरेको छ ।

कोषका अनुसार, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम दुई अर्ब ५१ करोड २० लाख ९४ हजार ८२२ रुपैयाँ, दुर्घटना तथा अशक्तता दाबी २२ करोड ८६ लाख ५३ हजार ४७५ रुपैयाँ बराबर रहेको छ । त्यस्तै, आश्रित परिवार सुरक्षा दाबी रकम २९ करोड ७ लाख ७२ हजार ११६ रुपैयाँ र अवकाश दाबी रकम १४ अर्ब ६१ करोड ७३ लाख १४ हजार २७१ रुपैयाँ बराबर छ ।

सरकारले पछिल्लोपटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा अनिवार्य रूपमा सहभागी हुनैपर्ने बाध्यकारी व्यवस्था गरेपछि कोषको प्रभावकारितासमेत बढेको छ । स्वरोजगार श्रमिक, उद्योग प्रतिष्ठान तथा विभिन्न संघ–संस्थाका कार्यरत कामदार तथा श्रमिक कोषमा सहभागी भई योगदानकर्ता बन्न सक्छन् ।

कोषमा नियमित रूपमा योगदान गर्नेले औषधोउपचार, पेन्सन तथा दुर्घटना अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सुविधा पाउँछन् । कोषलाई प्रभावकारी बनाउन थप सिर्जनशल योजना ल्याउनुपर्ने आवाज पनि उठ्दै आएको छ । कोषमा योगदान रकम बढ्दै जाँदा लगानीका अन्य स्रोतहरूको खोजी गर्नुपर्ने आवश्यकता बढेर गएको छ ।

प्रतिक्रिया