बुधबार, वैशाख १६, २०८३

मेरो न्यूजलाई प्रेस काउन्सिलले पत्र काटेकोमा प्रेस चौतारीको आपत्ति

मेरोन्यूज २०८२ मंसिर ११ गते १२:५८

काठमाडौं । मेरो न्यूजको फेसबुक पेजबाट पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको भिडियो हटाउन प्रेस काउन्सिल नेपालले गरेको पत्राचारप्रति प्रेस चौतारी नेपालले आपत्ति प्रकट गरेको छ।

Advertisement
NiccNicc

मंसिर ३ गते बाराको सिमरामा एमालेका कार्यकर्ता र जेनजी युवाहरुबीच भएको झडपपछि सोही दिन राजधानीमा आयाेजित एक कार्यक्रममा साेबारे अध्यक्ष ओलीले बोलेको विषय मेरो न्यूजको आधिकारिक फेसबुक पेजमा राखिएको थियो । उक्त भिडियाे हटाउन काउन्सिलले मंसिर १० गते मेराेन्यूजलाई पत्र काटेसँगै विभिन्न संघ संगठन तथा मिडिया आवद्ध व्यक्तिहरुले यसमा असन्तुष्टि व्यक्त गरेका छन् ।

यसबारे प्रेस चाैतारीले समेत काउन्सिलकाे साे निर्णयमा गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । देशको पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्षले सार्वजनिक रूपमा दिएको दिएको मन्तव्य प्रकाशन प्रसारण गर्नु मिडियाको अधिकारको विषय भएको बताउँदै नियामक निकायको रूपमा रहेको काउन्सिलले त्यस्ता सामग्रीको प्रकाशन प्रसारणमा रोक लगाउनु आपत्तिजनक विषय भएको चौतारीका अध्यक्ष गणेश पाण्डेले बताए ।

प्रेस स्वतन्त्रता विरोधी यस्ता कार्य तत्काल सच्चाउन काउन्सिलसँग चाैतारीले आग्रह गरेकाे छ ।

प्रतिक्रिया