वन मन्त्रालयकाे सरुवामा ‘सेटिङ’ को आरोप

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले कर्मचारी सरुवामा सेटिङ गरेकाे आरोप लागेको छ । मन्त्रालय अन्तर्गत संघीय जलाधार व्यवस्थापन स्रोत केन्द्रमा कार्यरत एक महिला कर्मचारीले मन्त्रालयले सरुवामा मनपरी गरेको भन्दै सार्वजनिक रुपमा आरोप लगाएकी छन् ।
मन्त्रालयले ‘सेटिङ’ मिलाएर कर्मचारी सरुवा गरेपछि आफूजस्ता इमान्दार कर्मचारी अन्यायमा परेको भू-संरक्षण अधिकृत विष्णु कुमारी अधिकारीको गुनासो छ । उनले आफूले सरुवा मागेको ठाउँमा चलखेलका आधारमा सरुवा अघि बढाइएकाे भन्दै आपत्ति जनाइन् ।
विगत १७ वर्षदेखी विभाग मन्त्रालयमा इमान्दारीपूर्वक काम गर्दापनि मन्त्रालयले अन्यायपूर्ण व्यवहार गरेको उनको भनाइ छ । अधिकारीका अनुसार उनले गत वर्ष राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, फिल्ड कार्यान्वयन इकाई, सलकपुरमा सरुवा माग गर्दै मन्त्रालयलाई निवेदन दिएकी थिइन् । तर मन्त्रालयले उनलाई संघिय जलाधार व्यवस्थापन केन्द्र, कुलेखानीमा सरुवा गरिदिएको थियो । ‘लाे प्राेफाइल’काे काम भन्दै उक्त ठाउँमा काेही उपसचिव जान नमानेकाले आफूलाई प्रमुख बनाएर पठाइएको उनले बताइन् । ‘उपसचिवहरु जान नमानेपछि म अफिसरलाई प्रमुख बनाएर सरुवा गरियाे । तर, मैले नमागेकाे ठाउँ भएर म पनि जान मानिनँ’, उनले भनिन् ।
त्यसपछि मन्त्रालयले विभिन्न आश्वासन दिएकाे उनकाे भनाइ छ । ‘अहिले काम गर्दै गर्नु, सिक्दै गर्नु, राम्रो गरेर देखाउनुस् पछि तपाईंले भनेकै ठाउँमा पठाउँला भनेर मन्त्रालयले आश्वासन दिएपछि तयार भएँ’, उनले भनिन् । उक्त कार्यालय आएको ८ महिनामै मुहार फेरीने गरी काम भएकाे र प्रगतिका हिसाबले पनि सबैभन्दा बढी आफ्नै कार्यालयबाट भएको अधिकारीको दाबी छ ।
तर जेनजी आन्दोलनपछि सरकारी बजेट काटिएसँगै आयोजना बजेट बढेपछि राष्ट्रपति चुरेमा चलखेलपूर्ण सरुवा गरिन लागेको उनको आरोप छ । त्यहाँ सरुवा भएर जान लागेका उपसचिव सधैँ आयोजना बजेट बढी भएको ठाउँ हेरेर सरुवा लिने र मन्त्रालयले पनि सजिलै उनले मागे बमोजिम गरिदिने गरेको उनी बताउँछिन् ।
आफूले आश्वासन सम्झाउँदै मन्त्रालयमा गुनासाे राख्दा निमित्त हटाएर सुशासन कायम गराउने अभियान हाे भन्दै पन्छ्याउन खाेजेकाे उनले बताइन् । ‘निमित्त हटाउने भए सबै कार्यालयमा समान रूपमा लागू हुनुपर्याे नि। निश्चित मापदण्ड बनाएर सरुवा गर्नुपर्याे, कसैलाई ताकेर मात्र यस्ताे गर्न पाइन्छ ?, उनले आक्राेश व्यक्त गरिन् ।
कर्मचारीलाई सरुवा गर्दा उसकाे सरुवा ‘हिस्ट्रि’ हेरेर गरिनुपर्ने उनकाे माग छ। ‘इमान्दार, कम अवसर पाएका कर्मचारीलाई मनाेमानी ढंगले सरुवा गर्ने र चलखेलका कर्मचारीलाई बारम्बार सेटिङ मिलाएर भनेका बेला, भनेकै स्थानमा मिलाइदिने प्रवृत्ति छ । यो त सुशासललाई नै ठाडो चुनौती भएन र ?’ उनले प्रश्न शैलीमा भनिन् ।
सधैँ आयाेजना बजेट हेरेर सरुवा लिनेलाई भन्दा कम अवसर पाएकाे उपसचिवलाई त्यहाँ पठाउनु उचित हुने उनकाे भनाइ छ ।
मन्त्रालयले सधैँ नियम मिचेर सरुवा गर्ने गरेको उनको आराेप छ। ‘सिस्टममा कहिल्यै पनि सरुवा गरिँदैन, फिल्डमा भएको कर्मचारीलाई वर्षौं उतै दिइरहने, विभाग मन्त्रालयमा भएकाहरुपनि त्यहीँ बसिरहने प्रचलन छ । यो भष्ट्राचारलाई प्रोत्साहन गर्ने काम भयो’, उनले भनिन् ।
आफू महिला भएकाले पनि यस्तो अन्याय भोग्नुपरेको अधिकारीको बुझाइ छ । महिलालाई प्रमुखको जिम्मेवारी दिन हिच्कीचाउने र पाएकाहरुलाई पनि अवधी नपुग्दै हटाउने मनस्थिती हावी भएको उनको भनाइ छ ।
वन मन्त्रालयका ४५ कार्यालयमध्ये महिला प्रमुख जम्मा दुईवटामा मात्र रहेको तथ्य प्रस्तुत गर्दै उनले भनिन्, ‘महिलाले नेतृत्व क्षमता देखाएपनि अवसर पाउँदैनन् । सुशासन ऐनले महिला कर्मचारीलाई विशेष अवसर दिएपनि व्यवहारमा भेदभाव कायमै छ ।’
अधिकारीले सरुवामा स्पष्ट मापदण्ड बनाउन र सबैलाई समान अवसर सुनिश्चित गर्न माग गरेकी छन्। ‘कर्मचारी सरुवामा एकरुपता अपनाउने हाे भने मात्र सुशासन, पारदर्शिता र भ्रष्टाचार अन्त्य सम्भव हुन्छ’ उनले भनिन् ।
विभाग मन्त्रालयमा २ वर्षकाे अवधि काम गरेका कर्मचारीलाई फिल्डमा र फिल्डमा २ वर्ष पुरा भएकालाई विभाग मन्त्रालयमा सरुवा गरिनु पर्ने उनकाे भनाइ छ । यसरी रोटेशनल सरुवा गर्दा कर्मचारीको कार्यदक्षता बढ्ने, जवाफदेहिता सुनिश्चित हुने र भ्रष्टाचार हुने सम्भावना पनि न्यून हुने उनी बताउँछन्। ‘मेरो गुनासो पात्रलाई होइन यो प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ भन्ने हो । ताकि कोही कर्मचारी अन्यायमा नपरोस्’ उनले भनिन् ।
मन्त्रालयले भने राष्ट्रपति चुरेमा नियमअनुसार नै कर्मचारी सरुवा भएको बताएको छ । त्यहाँ उपसचिवको दरवन्दी भएकाले उपसचिवलाई नै पठाइएको मन्त्रालयका प्रवक्ता विशाल घिमिरेले स्पष्ट पारे । ‘मैले जानकारी पाएअनुसार जुन पदका लागि पदीय जिम्मेवारी भएको अधिकृत हुनुहुन्छ उहाँलाई त्यहाँ पठाइएको हो’, उनले भने ।
कर्मचारीलाई आश्वासन दिएको विषयमा प्रवक्ता घिमिरेले भने, ‘कुनै ठाउँमा तपाईंलाई सरुवा गरिदिउँला भनेर कर्मचारीलाई आश्वासन दिने मन्त्रालयको व्यवस्थापनको विषय हो, त्याे पूरा नहुँदा कर्मचारीको चित्त दुख्नु स्वभाविक हो।’
मन्त्रालयले निजामती सेवा ऐन नियम हेरेर नै सरुवा गर्ने उनले स्पष्ट पारे । ‘तर यदी नियमविपरित नै सरुवा भएको रहेछ भने कर्मचारीले उजुरी गर्न सक्नुहुन्छ । कसैलाई दु:ख दिने नियतले मन्त्रालयले सरुवा गर्दैन र गर्नुहुँदैन’, उनले भने ।
महिलालाई प्रमुखको जिम्मेवारी दिनेमा मन्त्रालय सकरात्मक रहेको उनले बताए । ‘निति नियमलेनै सुनिश्चत गरेको छ कुनै पदमा याेग्यता पुगेको व्यक्ति महिला हुनुहुन्छ भने त्यसमा महिलालाई नै प्राथमिकता दिनुपर्छ, मन्त्रालयले त्यही गर्छ’, प्रवक्ता घिमिरेले भने ।









सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
खैरो हिरोइनसहित आठ जना पक्राउ
मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
वन मन्त्रालयकाे सरुवामा ‘सेटिङ’ को आरोप
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
राप्रपाले बाेलायाे केन्द्रीय कार्यसमितिको बैठक
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
प्रतिक्रिया