शनिबार, मंसिर २७, २०८२

यामाहा नेपालद्वारा बुटवलमा ‘ब्लु स्क्वायर शोरूम’ उद्घाटन

मेरोन्यूज २०८२ मंसिर २७ गते १५:५५

बुटवल । यामाहा नेपालले बुटवलमा नयाँ यामाहा ब्लु स्क्वायर शोरूमको भव्य शुभारम्भ गरेको छ । उक्त शोरूमको सञ्चालन बाइकर्ज बुटवल प्रालिले गर्नेछ ।

यामाहाको राष्ट्रव्यापी विस्तार रणनीतिअन्तर्गत यो शोरूम लुम्बिनी प्रदेशमा यामाहाको प्रिमियम रिटेल उपस्थितिलाई थप सुदृढ बनाउने महत्वपूर्ण माइलस्टोनका रूपमा लिइएको छ ।

उद्घाटन समारोहमा यामाहा मोटर इन्डिया सेल्स प्रालिका निर्देशक हिरोशी सेतोगवा प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल विशेष अतिथि थिए भने यामाहा मोटर इन्डिया सेल्स प्रालिका जिएम (एक्सपोर्ट मार्केटिङ) राजदीप सिंह ग्रेवाल र एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीइओ दीपक कुमार अग्रवालको पनि उपस्थिति रहेको थियो । साथै, कार्यक्रममा प्रतिष्ठित बैंकर, कर्पोरेट क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।

नयाँ ब्लु स्क्वायर शोरूम यामाहाको विश्वव्यापी प्रिमियम सेल्स पहिचानलाई प्रतिबिम्बित गर्ने गरी डिजाइन गरिएको छ । शोरूममा यामाहाको थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) पूर्वाधार उपलब्ध रहेको छ, जसले ग्राहकहरूलाई एकै छानामुनि सम्पूर्ण सेवा प्रदान गर्नेछ । तालिमप्राप्त सर्भिस स्टाफ, आधुनिक उपकरण तथा जेनुइन स्पेयर पार्ट्सका लागि छुट्टै व्यवस्था गरिएको यस शोरूमले गुणस्तरीय आफ्टर सेल्स सेवा सुनिश्चित गर्ने यामाहाको दाबी छ ।

‘ब्लु’ ले यामाहाको प्रतिष्ठित ब्रान्ड कलरलाई प्रतिनिधित्व गर्छ भने ‘स्क्वायर’ ले ‘वन–स्टप खरिद केन्द्र’ को अवधारणालाई जनाउँछ । ब्लु स्क्वायर शोरूममा ग्राहकहरूले मोटरसाइकल, स्कुटर, एक्सेसरीज तथा राइडिङ गियरहरू एकै स्थानबाट खरिद गर्न सक्नेछन् । आकर्षक र प्रिमियम रिटेल वातावरणले यामाहाको स्टाइल, प्रविधि र राइडर सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई झल्काउने कम्पनीको भनाइ छ ।

उद्घाटन कार्यक्रममा बोल्दै एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले बाइकर्ज बुटवल टिमलाई बधाई दिँदै ब्लु स्क्वायरको अवधारणाले यामाहाको युथ, पर्फर्मेन्स, फन, प्यासन र बलियो रेसिङ डीएनएलाई प्रतिनिधित्व गर्ने बताए । उनले ब्लु स्क्वायर शोरूमले बिक्री र सेवासँगै यामाहाले परिकल्पना गरेको जीवनशैलीसमेत प्रस्तुत गर्ने उल्लेख गरे ।

यामाहा मोटर इन्डिया सेल्सका निर्देशक हिरोशी सेतोगवाले ग्राहक सन्तुष्टिप्रति यामाहाको प्रतिबद्धता दोहोर्याउँदै बाइकर्ज बुटवलले यस क्षेत्रका यामाहा ग्राहकहरूलाई प्रिमियम अनुभव र उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले ब्लु स्क्वायर शोरूमले यामाहाको विश्वस्तरीय मापदण्ड कायम राख्दै अघि बढ्ने बताए ।

कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूले पनि ग्राहक सन्तुष्टि अभिवृद्धि, ब्रान्ड पहिचान सुदृढीकरण तथा नेपालमा विश्वस्तरीय सेवा विस्तारका लागि यामाहाले गर्दै आएको प्रयासको प्रशंसा गरे । उनीहरूका अनुसार ब्लु स्क्वायर अवधारणा केवल रिटेल स्पेस मात्र नभई पर्फर्मेन्स, स्टाइल र विश्वास खोज्ने आधुनिक राइडरहरूको जीवनशैलीसँग मेल खाने प्लेटफर्म हो ।

प्रतिक्रिया