सोमबार, पुष ७, २०८२

सुहाङलाई प्रधानमन्त्रीले भनिन्- तपाईँजस्ता युवाले देशको बागडोर सम्हाल्नुपर्छ

मेरोन्यूज २०८२ पुष ६ गते १८:२६

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग इलाम-२ का निवर्तमान सांसद तथा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्बाङ नेतृत्वको एक प्रतिनिधिमण्डलले सिंहदरबारमा भेटवार्ता गरेको छ ।

भेटमा नेम्बाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्ता राजमार्ग र पुल पुनःनिर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन निरीक्षण गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिएकी थिइन् ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छन् । उनले भनिन्- ‘हामी चुनाव गराउनै लागिरहेका छौँ। असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौँ । शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ । अबको हाम्रो लक्ष्य चुनाव गराउने हो। चुनाव भए मात्र मुलुकमा अब दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ ।’

नेम्बाङले प्रधानमन्त्री कार्कीलाई चुनाव गराउन सफलता मिलोस् भनेर शुभकामना पनि दिए । उनले भने- ‘हाम्रो शुभेच्छा छ, शुभकामना छ । चुनाव गराउन सफल हुनुहोस् ।’

प्रधानमन्त्री कार्कीले नेम्बाङसँग चुनावमा उठ्ने तयारी के छ भनेर पनि जिज्ञासा राखेकी थिइन् । प्रतिक्रियामा नेम्बाङले चुनावको तयारी गरिरहेको बताएका थिए । प्रधानमन्त्री कार्कीले नेम्बाङलाई शुभकामना दिँदै अब युवा नै अघि सर्नुपर्ने धारणा राखेकी थिइन् ।

उनले भनिन्- ‘चुनाव हुन्छ। तयारी अवस्थामा रहनू। तपाईँहरुजस्तो युवा आउनुपर्छ र देशको बागडोर सम्हाल्नुपर्छ। अनि मात्र देशमा केही न केही हुन्छ। बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरुमाथि शासन गरेर हुँदैन। पुरानाको अनुभव र सल्लाह काम लाग्ला तर चालक सिटमा युवा नै आउनुपर्छ। देश युवाले नै हाँक्नुपर्छ। युवामा साहस हुन्छ, ऊर्जा हुन्छ। उसले साहसिक पाइला पनि चाल्न सक्छ।’

प्रतिक्रिया