ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै

सिन्धुली । ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिन्धुलीगढीको पुनर्निर्माण तथा युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो ।
सदरमुकाम सिन्धुलीमाढी तथा खुर्कोट बजारबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित सिन्धुलीगढीमा अहिले दैनिक २०० भन्दा बढी पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन् । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, सिन्धुली शाखाका अध्यक्ष उद्धव श्रेष्ठका अनुसार गढी दरबार, अन्य ऐतिहासिक संरचनाको पुनर्निर्माण तथा युद्ध सङ्ग्रहालय सञ्चालनमा आएपछि पर्यटकको आगमन निरन्तर बढिरहेको छ ।
उनका अनुसार नागबेली सडक यात्रा पार गरी पुगिने सिन्धुलीगढी वर्षभरि कुहिरो र प्राकृतिक दृश्यको रमणीय संयोजनका कारण पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । गर्मी र जाडो दुवै मौसममा तराई क्षेत्रका जिल्लाबाट आउने पर्यटकहरू यहाँको मौसम, शीतल हावा र ऐतिहासिक महत्वबाट प्रभावित हुने गरेका छन् ।
हाल जुनार तथा सुन्तलाको मौसम रहेकाले सिन्धुलीगढी आउने भारतीय तथा आन्तरिक पर्यटकहरूले स्थानीय उत्पादनलाई उपहारका रूपमा लैजाने गरेका स्थानीय व्यापारी गोपाल श्रेष्ठले जानकारी दिए । सिन्धुलीका जुनार, सुन्तला तथा स्थानीय तरकारीले यहाँको आर्थिक गतिविधिमासमेत सकारात्मक प्रभाव पारेको उनको भनाइ छ ।
नेपाल–अङ्ग्रेज युद्धको जीवित दस्तावेज मानिने सिन्धुलीगढीमा सङ्घीय संरचनापछि उल्लेखनीय पूर्वाधार विकास गरिएको छ । कमलामाई नगरपालिका मातहतमा रहेको सिन्धुलीगढीमा नेपाली सेनाको करिब रु आठ करोडको सहयोगमा युद्ध सङ्ग्रहालय निर्माण भएपछि पर्यटकको चाप बढेको हो । सङ्ग्रहालयमा तोप, घरेलु हातहतियार, युद्ध सामग्री तथा युद्धसम्बन्धी वृत्तचित्र प्रदर्शनीमा राखिएका छन् ।
विशेषगरी अङ्ग्रेजी तथा नेपाली नयाँ वर्ष, शनिबार र अन्य सार्वजनिक बिदामा सिन्धुलीगढीमा एक हजारभन्दा बढी आन्तरिक तथा भारतीय पर्यटकले अवलोकन भ्रमण गर्ने गरेका व्यापारी श्रेष्ठले जानकारी दिए । उनका अनुसार पछिल्लो एक वर्षमा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, श्रीलङ्का, पाकिस्तान र भारतलगायत देशका विदेशी पर्यटकसमेत सिन्धुलीगढी पुग्न थालेका छन् ।
कमलामाई नगरपालिकाका पूर्वप्रमुख खड्गबहादुर खत्रीका अनुसार सिन्धुलीगढी भ्रमणमा आउने पर्यटकहरूले युद्ध सङ्ग्रहालय, रानी दरबार, ठुँडो दरबार, गणेश हिमाल, तराईका फाँट तथा महाभारत क्षेत्रमा पाइने लोपोन्मुख जडीबुटीको अवलोकन गर्न सक्छन् ।
सिन्धुलीगढीको ऐतिहासिक महत्व, प्राकृतिक सौन्दर्य र पूर्वाधार विकासले यस क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थालेको स्थानीयवासीको भनाइ छ ।













प्रहरी बनेर रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ
बिपीको मेलमिलापको सान्दर्भिकता
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लागौँ : माधव नेपाल
निजी क्षेत्रको मनोबल कमजाेर छ, ढुक्क भएर लगानी गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया