बिहीबार, फागुन १४, २०८२

बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै

मेरोन्यूज २०८२ पुष २६ गते २१:४१

नेपालगञ्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा दुई हजार ४९१ जना निर्वाचन प्रहरी (म्यादी) भर्ना गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले आगामी फागुनमा हुने निर्वाचनलाई लक्षित गरी बाँकेका तीन निर्वाचन क्षेत्रका लागि दुई हजार ४९१ जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिए।

Advertisement
nepal life insurencenepal life insurence

निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति बाँकेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका लागि एकीकृत सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । समितिले जारी गरेको सूचनाअनुसार निर्वाचन प्रहरी पदका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आगामी माघ १ गतेसम्म दरखास्त दिनसक्ने उल्लेख छ ।

भर्ना हुन चाहनेले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय (कोहलपुर), इलाका प्रहरी कार्यालय (भगवानपुर), सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्वाटर (भवनियापुर) र सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गण हेडक्वाटर (शमशेरगञ्ज)मा दरखास्त दिन सक्ने प्रहरीले जनाएको छ । निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि ४० दिन वा नेपाल सरकारले तोकेबमोजिम रहनेछ ।

सेवा सुविधाअन्तर्गत प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनका लागि रु ३४ हजार ७७६ पारिश्रमिक प्रदान गरिने समितिले जनाएको छ । सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेटअनुसार खाद्यान्न खर्चसमेत उपलब्ध गराइने सूचनामा उल्लेख छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले जारी गरेको सूचनाअनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन पर्याप्त सङ्ख्यामा निर्वाचन प्रहरी परिचालन गरिने छ ।

बाँकेमा यस पटक तीन लाख ५१ हजार ४३९ जना मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा १३९ मतदानस्थल र ४०० मतदान केन्द्र रहेका छन् । निर्वाचन अधिकारी शाहीले जिल्लामा ५० प्रतिशत अस्थायी मतदाताको नामावली विवरण प्राप्त भएको जानकारी दिँदै त्यसलाई अद्यावधिक गर्ने कार्य जारी रहेको बताए ।

“अहिले समावेश भएन भने पछि मतदान प्रक्रियामा सहभागी हुन पाइँदैन”, उनले भने । जिल्लाका सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था, कैदीबन्दी तथा वृद्धाश्रममा रहेका ज्यष्ठ नागरिकको नामावली विवरण प्राप्त भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बाँकेमा छ हजार हाराहारीमा अस्थायी मतदाता रहेका छन् ।

प्रतिक्रिया