शनिबार, वैशाख १२, २०८३

बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता

मेरोन्यूज २०८२ माघ ७ गते ७:४६

बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । बैतडीमा मङ्गलबार १० जना विभिन्न दलबाट र दुई जनाले स्वतन्त्र उम्मेदवारी दिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Advertisement
NiccNicc

उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द, नेकपा (एमाले) बाट दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट प्रमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूपेनबहादुर चन्द र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारी रहेका छन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रामसिंह कुँवर, जनता समाजवादी पार्टी नेपालबाट आनसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, आमजनता पार्टीबाट विसनसिंह बोहरा, श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय तथा जयप्रकाश पन्त र तेजबहादुर चन्दको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिनुभयो ।

कार्यक्रमअनुसार बुधबार माघ ७ गते उम्मेदवारीमाथि दाबी–विरोध दर्ता गर्ने समय तोकिएको छ भने माघ ८ गते दाबी–विरोध उपर जाँचबुझ गरी निर्णय गरिनेछ । माघ ९ गते उम्मेदवारको नामावली संशोधनसहित प्रकाशन गरिने आयोगले जनाएको छ । माघ १० गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।

उम्मेदवारी फिर्तापछि सोही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । माघ ११ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ५६ हजार ३७२ मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

प्रतिक्रिया