बिहीबार, माघ ८, २०८२

पाकिस्तान मल आगलागीमा मृत्यु हुनेकाे संख्या ५५ नाघ्याे, केही अझै बेपत्ता

मेरोन्यूज २०८२ माघ ८ गते १३:४३

पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ५५ पुगेको कराचीका एक सरकारी अधिकारीले बिहीबार बताएका छन् ।

कराचीको दक्षिणी जिल्लाका उपायुक्त जावेद नबी खोसोले भन्नुभयो, “शनिबार राति आगलागी भएपछि हालसम्म कुल ५५ जनाको शव उद्धार गरिएको छ ।” उन्का अनुसार उद्धार कार्य अझै जारी छ र भग्नावशेषभित्र मानव अवशेष खोज्ने प्रयास भइरहेको छ ।

तीन तले गुल प्लाजामा भएको उक्त आगलागीपछि अझै केही व्यक्ति बेपता रहेको आशङ्कामा आफन्तहरूले उद्धार कार्य ढिलो भएको भन्दै आलोचना गरेका छन् । घटनास्थलमा उद्धारकर्ताहरूले निरन्तर खोजी गरिरहे पनि धेरै परिवार अझै आफ्ना प्रियजनको अवस्थाबारे अनिश्चिततामा रहेका छन् ।

प्रान्तीय स्वास्थ्य अधिकारी डा सुमैया सैयदले बुधबार पत्रकारहरूसँग कुरा गर्दै ५० भन्दा बढी परिवारले डिएनए नमूना उपलब्ध गराइसकेको जानकारी दिए । उनले सिभिल अस्पताल कराचीको शवगृह बाहिर भ,ने् “डिएनए नमूनाहरू मिलान भएपछि मात्र हामी शव वा अवशेष सम्बन्धित परिवारलाई सम्मानपूर्वक हस्तान्तरण गर्नेछौँ ।”

कराचीका बजार र कारखानाहरूमा कमजोर पूर्वाधारका कारण आगलागीका घटना बेला–बेला हुने गरेको पाइन्छ । तर अधिकारीहरूका अनुसार यसपटकको आगलागीको परिमाण र मानवीय क्षति असाधारण र दुर्लभ रहेको छ ।

यस घटनाबारे छानबिन गर्न सरकारी समितिले अनुसन्धान सुरु गरिसकेको छ । तर आगलागी कसरी र किन भयो भन्ने विषयमा हालसम्म स्पष्ट कारण पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया