इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै

इरानभर जारी विरोध प्रदर्शनमाथि भएको कडा दमनका क्रममा मृत्यु हुनेको सङ्ख्या कम्तीमा पाँच हजार दुई पुगेको छ । अमेरिका–आधारित मानव अधिकार कार्यकर्ताहरूका अनुसार देशको इतिहासकै सबैभन्दा व्यापक इन्टरनेट ब्ल्याकआउट दुई हप्ता नाघेपछि वास्तविक मृतक सङ्ख्या अझै बढी हुनसक्ने गम्भीर आशङ्का छ ।
जनवरी ८ देखि इरानी अधिकारीहरूले इन्टरनेट पहुँच लगभग पूर्ण रूपमा बन्द गरेकाले देशभित्रको अवस्था बारे विश्वसनीय सूचना प्राप्त गर्न अत्यन्त कठिन बनेको छ । यहीबीच अमेरिका र इरानबीच तनाव चर्किँदै जाँदा अमेरिकी नौसेनाको एक विमानवाहक समूह मध्यपूर्व नजिक पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै यसलाई ‘आर्मडा’ अर्थात् विशाल नौसैनिक शक्तिसँग तुलना गरेका छन् ।
मानव अधिकार कार्यकर्ता समाचार एजेन्सीका अनुसार मृतकमध्ये चार हजार ७१६ जना प्रदर्शनकारी, २०३ जना सरकारसम्बद्ध व्यक्ति, ४३ जना बालबालिका र ४० जना विरोधमा संलग्न नभएका सर्वसाधारण नागरिक छन् । साथै, अधिकारीहरूले चलाएको व्यापक गिरफ्तारी अभियानमा २६ हजार ८०० भन्दा बढी मानिसलाई हिरासतमा लिइएको जनाइएको छ ।
उक्त एजेन्सीले इरानभित्र रहेका कार्यकर्ताहरूको सञ्जालमार्फत मृत्यु पुष्टि गर्दै आएको छ र यसका अघिल्ला तथ्याङ्कहरू पनि प्रायः विश्वसनीय ठहरिएका छन् । दशकौँयताका कुनै पनि विरोध आन्दोलनभन्दा यो मृतक सङ्ख्या बढी भएको बताइन्छ, जसले सन् १९७९ को इस्लामिक क्रान्तिपछिको अराजक अवस्थाको सम्झना दिलाएको छ ।
इरान सरकारले भने बुधबार पहिलोपटक आधिकारिक रूपमा तीन हजार ११७ जनाको मृत्यु भएको स्वीकार गरेको छ । सरकारी विवरणअनुसार डिसेम्बर २८ देखि सुरु भएको आन्दोलनमा दुई हजार ४२७ जना नागरिक र सुरक्षा बलका सदस्य मारिएका थिए भने बाँकीलाई ‘आतङ्कवादी’ का रूपमा वर्गीकृत गरिएको छ । विगतमा इरानी सरकारले यस्ता घटनामा मृतक सङ्ख्या कम देखाउने वा सार्वजनिक नगर्ने गरेको आरोप लाग्दै आएको छ ।
एसोसिएटेड प्रेसले इन्टरनेट बन्द र अन्तर्राष्ट्रिय कल अवरुद्ध भएकाले मृतक सङ्ख्या स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ । इरानमा विदेशी पत्रकारहरूको प्रत्यक्ष रिपोर्टिङ क्षमता सीमित छ र सरकारी टेलिभिजनले प्रदर्शनकारीहरूलाई अमेरिका र इजरायलद्वारा उक्साइएका ‘दङ्गाकारी’ भन्दै प्रमाणबिनै आरोप लगाइरहेको छ ।
शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या र तेहरानले सम्भावित सामूहिक मृत्युदण्डतर्फ कदम चाल्न सक्ने सङ्केत दिएपछि तनाव झन् बढेको छ । राष्ट्रपति ट्रम्पले शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या र सामूहिक मृत्युदण्डजस्ता कदमलाई पार गर्न नहुने लक्ष्मण रेखा भन्दै कडा चेतावनी दिनुभएको छ ।
इरानका महान्यायाधिवक्ता लगायतका अधिकारीहरूले पक्राउ परेकामध्ये केहीलाई ‘मोहरेब’ अर्थात् ‘ईश्वरका शत्रु’ भन्दै मृत्युदण्ड योग्य अपराधको अभियोग लगाएका छन् । यही अभियोग सन् १९८८ मा पनि प्रयोग गरिएको थियो, जसमा कम्तीमा पाँच हजार मानिस मारिएको बताइन्छ ।
यसैबीच, अमेरिकी सेनाले मध्यपूर्वतर्फ थप सैन्य सम्पत्ति सारिरहेको छ । यसमा विमानवाहक युएसएस अब्राहम लिङ्कन र यससँगै यात्रा गर्ने युद्धपोतहरू समावेश छन् । नाम नछाप्ने सर्तमा एक अमेरिकी नौसेना अधिकारीले लिङ्कन स्ट्राइक समूह हाल हिन्द महासागर क्षेत्रमा रहेको जानकारी दिनुभएको छ ।
बिहीबार एयरफोर्स वनमा राष्ट्रपति ट्रम्पले ‘यदि इरानले कारबाही गर्न चाह्यो भने’ अमेरिका तयारी अवस्थामा रहेको भन्दै “हामीसँग त्यस दिशामा विशाल फ्लीट छ, सायद प्रयोग नै गर्न नपर्ला” भन्नुभयो ।
राष्ट्रपति ट्रम्पले यसअघि इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकी र इरानी अधिकारीबीच धेरै चरणमा वार्ता भएको स्मरण गराउँदै सम्झौता नभए सैन्य कारबाहीको चेतावनी पनि दोहोर्याउनुभएको छ । “हामीले प्रहार गर्नुअघि उनीहरूले सम्झौता गर्नुपर्ने थियो”, उहाँले जोड दिनुभयो ।
















प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ सम्पन्न
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया