आइतबार, माघ १८, २०८२

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

मेरोन्यूज २०८२ माघ १७ गते २०:१७

नेपालगञ्ज, १७ माघः वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार हस्तान्तरण गरिएको छ ।

प्रेस सेन्टर नेपाल, बाँके शाखाले सेन्टरको २२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनलाई वर्ष २०८२ को कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार हस्तान्तरण गरिएको हो ।

वरिष्ठ पत्रकार पिटरलाई प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव मानबहादुर विक, केन्द्रीय सदस्य सिराज खान र पूर्वकेन्द्रीय सदस्य डा डक्टप्रसाद धितालले संयुक्त रूपमा रु ३० हजार राशिको पुरस्कार हस्तान्तरण गरे ।

पत्रकार पिटरले सेन्टरले आफूलाई सम्मान गरेर ठूलो जिम्मेवारीको भारी बोकाएको बताउँदै स्व कृष्णसेन इच्छुकसँग बिताएका समय र अनुभवहरू स्मरण गरे । उनले जनपक्षीय पत्रकारिता अझै पनि जसरी हुनुपर्नेमा त्यसरी नभएको भन्दै उहाँले जनपक्षीय पत्रकारिता सशक्त बनाउन दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव विकले धेरै छलफल र विचारविमर्शपछि मात्र यो पुरस्कारका लागि वरिष्ठ पत्रकार पिटरलाई छनोट गरिएको जानकारी दिए ।

प्रतिक्रिया