१३२ केभी प्रसारणलाइनको परीक्षण सुरु

गुल्मी । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरिएको छ ।
बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङे १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो ।
गुल्मीको रेसुंगा नगरपालिकाअन्तर्गत वडा नं ७ को उनाएचौरस्थित तम्घास सबस्टेसनबाट बागलुङको ढोरपाटन नगरपालिका‐२ खल्टुबोटस्थित बुर्तिबाङ सबस्टेसनसम्मको प्रसारण लाइनमा १३२ हजार भोल्ट क्षमताको विद्युत् परीक्षण र विद्युत् प्रवाह गरिने प्राधिकरणले जनाएको छ ।
उक्त प्रसारणलाइन आजदेखि दुई दिनसम्म परीक्षण गरेपछि मात्र नियमित सञ्चालन गरिने तयारी गरिएको विद्युत् प्राधिकरणका आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिए ।
प्राधिकरणद्वारा रेसुंगा नगरपालिका–३, ४ र ५, इस्मा गाउँपालिका–२ तथा मुसिकोट नगरपालिका–१, २ र ३ हुँदै बागलुङको बडिगाड गाउँपालिका–२, ५, ६ र ७ र ढोरपाटन नगरपालिका–२ बुर्तिबाङसम्म विस्तार गरिएको उनले बताए ।
प्राधिकरणका अनुसार यस आयोजनाको निर्माण चार अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतमा सम्पन्न भएको आयोजना प्रमुख चौधरीले जानकारी दिए ।
आयोजना सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत् आपूर्ति थप विश्वसनीय र सुदृढ हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
कपिलवस्तुको मोतीपुर सबस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मीको उनाएचौर र मुसिकोटको पौदीअमराई भएर बुर्तिबाङसम्म विद्युत् प्रवाह हुने व्यवस्था मिलाइएको आयोजना प्रमुख चौधरीले बताए ।
यसअघि बुटवलमा रहेको सबस्टेसनबाट लामो दूरीमा जिल्लामा विद्युत् आपूर्ति हुँदा पटकपटक सेवा अवरुद्ध हुने गरेको थियो । नयाँ प्रसारणलाइन र सबस्टेसन सञ्चालनमा आएसँगै ती समस्या समाधान भई जिल्लामा सहज र दीर्घकालीन रूपमा विद्युत् सेवा नियमित हुने विश्वास गरिएको छ ।
















यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया