खैबर पख्तुनख्वामा घातक विस्फोट

उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त सोमबार हिंसात्मक घटनाले पुनः रक्तरञ्जित बनेको छ । दुई बम आक्रमण र सुरक्षाकर्मी तथा आतङ्ककारीबीचको गोली हानाहानमा कम्तीमा १४ सुरक्षाकर्मी र एक बालिकासहित तीन सर्वसाधारणको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
अफगानिस्तान सीमावर्ती क्षेत्रहरूमा विद्रोह नियन्त्रण अभियान तीव्र पारिरहेका बेला यी छुट्टाछुट्टै आक्रमण भएका हुन् । यसै महिना इस्लामिक स्टेट समूहले इस्लामाबादस्थित एक शिया मस्जिदमा भएको आत्मघाती विस्फोटको जिम्मेवारी लिँदै ३१ जनाको ज्यान गएको र १६९ जना घाइते भएको दाबी गरेको थियो ।
सेनाको विज्ञप्तिअनुसार बाजौर जिल्लामा सुरक्षाचौकी नजिकै विस्फोटकले भरिएको गाडी ठोक्काइँदा ११ सुरक्षाकर्मी र एक बालिकाको ज्यान गएको छ । विस्फोटबाट आसपासका आवासीय भवनमा गम्भीर क्षति पुगेको र सात जना घाइते भएको जनाइएको छ ।
सेनाले उक्त घटनालाई ‘कायरतापूर्ण आतङ्कवादी आक्रमण’ भन्दै यसको दोष ‘भारतीय प्रोक्सी’ समूहलाई दिएको छ । घटनास्थलबाट भाग्दै गरेका एक दर्जन आतङ्ककारी मारिएको दाबी पनि गरिएको छ । नाम नखुलाउने सर्तमा एक सुरक्षा अधिकारीले विस्फोटक बोकेको गाडी धार्मिक कलेजको पर्खालमा ठोक्किएको बताए ।
बन्नु सहरको मिर्यान प्रहरी चौकीमा भएको अर्को विस्फोटमा रिक्शामा राखिएको बम पड्किँदा दुई सर्वसाधारणको मृत्यु भएको र १७ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
यसै प्रान्तको साङ्ला जिल्लामा खोजी अभियानका क्रममा तीन प्रहरी र तीन आतङ्ककारी मारिएका छन् । खैबर पख्तुनख्वा प्रहरीका अनुसार मारिएका आतङ्ककारीहरू चिनियाँ नागरिकलाई लक्षित आक्रमणमा संलग्न थिए ।
पछिल्ला वर्षहरूमा पाकिस्तानमा चिनियाँ लगानी तीव्र रूपमा बढेको छ । विशेष गरी चीन–पाकिस्तान आर्थिक कोरिडोर (सिपिइसी) अन्तर्गतका पूर्वाधार, ऊर्जा र यातायात परियोजनामा लगानी बढेको छ । तर ती परियोजनालाई लक्षित गर्दै चिनियाँ नागरिकमाथि पटक–पटक आक्रमण हुँदै आएका छन् । गत वर्ष मार्चमा एक बाँध निर्माण स्थलमा काम गरिरहेका पाँच चिनियाँ नागरिक र उनीहरूका चालक आत्मघाती आक्रमणमा मारिएका थिए, जसमा उनीहरूको गाडी काराकोरम राजमार्गबाट गहिरो खोँचमा खसेको थियो ।
बेइजिङ इस्लामाबादको प्रमुख क्षेत्रीय साझेदारका रूपमा रहँदै आएको छ र आर्थिक सहयोगमार्फत सम्बन्ध सुदृढ बनाइरहेको छ । तर सुरक्षा चुनौती कायम रहेकाले रणनीतिक सडक कोरिडोर र चिनियाँ परियोजनाहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको प्रहरी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लगातारका आक्रमणले सीमावर्ती क्षेत्रमा अस्थिरता बढाइरहेका बेला सुरक्षाबलले विद्रोही गतिविधि नियन्त्रण गर्न अभियान अझ तीव्र बनाउने सङ्केत दिएका छन् ।
















इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया