आइतबार, वैशाख १३, २०८३

भारतमा पटाका कारखानामा विष्फोट, २१ जनाको मृत्यु

मेरोन्यूज २०८२ फागुन १७ गते ७:५२

भारतमा शनिबार एक पटाका कारखानामा विस्फोट हुँदा यस घटनामा परी कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आन्ध्र प्रदेशको काकिनाडामा भएको उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन्।

Advertisement
NiccNicc

भारतीय सञ्चार संस्था, प्रेस ट्रस्ट अफ इन्डिया (पिटआई) ले राज्यमन्त्री कण्डुला दुर्गेशलाई उद्धृत गर्दै उक्त घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको पुष्टि गरेको छ । थप आठ जनाको अस्पतालमा उपचार भइरहेको दुर्गेशले बताउनुभयो । राज्यका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले घटनाको अनुसन्धान सुरु गर्न निर्देशन दिनुभएको छ। विशेष गरी दिवालीको हिन्दू चाड र विवाह उत्सवको समयमा भारतमा पटाका पड्काएर गरिने उत्सव धेरै लोकप्रिय मानिन्छ ।

भारतमा पटाका कारखानामा पटक पटक विस्फोटका घटना हुने गर्छन् तर मानवीय हताहतीका घटनाले पटाकाको उत्पादन र प्रयोगको अभ्यासप्र्रति प्रश्नचिन्ह खडा गरेको छ । गत वर्ष भारतको पश्चिम क्षेत्रमा भएको पटाका कारखानामा विस्फोट हुँदा २१ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया