बिहीबार, फागुन २१, २०८२

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदान सम्पन्न

मेरोन्यूज २०८२ फागुन २१ गते १७:०९

गोरखा । उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ । हिमाली क्षेत्रका एक सय र एक सयभन्दा कम मतदाता रहेका केन्द्रहरूमा मतदान सकिएको निर्वाचनमा खटिएका कर्मचारीले जानकारी दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मतदान सकिए पनि नियमानुसार ५ः०० बजेसम्म मतदान केन्द्रमा बस्नुपर्ने प्रावधान अनुसार कुरेर बसेको फिलिम आधारभूत विद्यालय पातीका मतदान अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले बताए । “यस मतदान केन्द्रमा रहेका १९८ मतदातामध्ये १२ः०० बजेसम्म १३८ मत खसेको छ, त्यसपछि कोही पनि मतदान गर्न आउनुभएको छैन । नियमानुसार ५ः०० बजेसम्म कुरेर बस्नुपर्ने भएकाले केन्द्रमा नै बसिरहेका छौँ”, उनले भने । उनका अनुसार पार्टीका प्रतिनिधिले भोट हाल्न आउने मतदाता यति नै हुन् भनेका छन् ।

सिदुङ आधारभूत विद्यालय सस्र्युँमा पनि मतदान सकिएको छ । यहाँ १४५ मतदाता रहेकामा ८६ मत खसेपछि मतदाता आउन छोडेका मतदान अधिकृत प्रकाश काफ्लेले जानकारी दिए । उनले पनि ५ः ०० बजेसम्म कुर्नुपर्ने नियमानुसार बसिरहेको बताए ।

क्वाक आधारभूत विद्यालय मतदान केन्द्रमा कूल एक सय मतदाता रहेकामा ४० मत खसेपछि मतदाता आउन छोडेका मतदान अधिकृत विपिन रेग्मीले जानकारी दिए । एक सय ११ जना मतदाता रहेको छाक आधारभूत विद्यालयमा ५५ मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत रमेश ढकालले बताए ।

एक सय चार मतदाता रहेको साम्दो आधारभूत विद्यालयस्थित केन्द्रमा बिहान ११ः०० बजेसम्म २४ मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत विजय श्रेष्ठले जानकारी दिए । जाडो छल्न काठमाडौँलगायत अन्य जिल्लामा झरेका मतदाता केही बाटोमा आउँदै गरेका जानकारी प्राप्त भएकाले मतदाता सङ्ख्या बढ्न सक्ने उनले बताए ।

चुमनुब्री–५ को क्राक आधारभूत विद्यालयस्थित मतदात केन्द्रमा रहेका १३७ मतदातामध्ये ८० मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत बलराम श्रेष्ठले उल्लेख गरे । “नियमानुसार मतदान केन्द्रमा कुरेर बसिरहेका छौँ”, उनले भने ।

त्यस्तै, १३७ मतदाता रहेका वुद्ध हिमाली आधारभूत विद्यालय मतदात केन्द्रमा ९० मत, चुम्लिङ आधारभूत विद्यालय चुम्चेत मतदात केन्द्रमा रहेका १७५ मतदातामध्ये १२ः०० बजेसम्म ६९ मत र १७६ मतदाता रहेका सिद्ध गणेश आधारभूत विद्यालयमा ८४ मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत सन्दीप मरहट्टाले जानकारी दिए ।

“लार्केबजार स्वास्थ्यचौकी मतदान केन्द्र नाम्रुङमा १ः०० पनि कोही मतदाता आएका छैनन्”, मतदान अधिकृत राजेन्द्र खनालले भने । जिल्लाको सबैभन्दा कम ७६ मतदाता रहेकामा हालसम्म २४ जनाले मतदान गरेका उनले जानकारी दिए ।

प्रतिक्रिया