शनिबार, फागुन २३, २०८२

इरानका राष्ट्रपतिले भने – इजरायल र अमेरिकासामु कुनैपनि हालतमा आत्मसमर्पण गर्दैनाैं

मेरोन्यूज २०८२ फागुन २३ गते १८:४६

मध्यपूर्वमा जारी युद्ध दोस्रो हप्तामा प्रवेश गरिरहेका बेला इरानले इजरायल र संयुक्त राज्य अमेरिकासामु कहिल्यै आत्मसमर्पण नगर्ने स्पष्ट अडान दोहोर्‍याएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले राष्ट्रलाई सम्बोधन गर्दै आफ्नो देशले बाह्य दबाबका बीच पनि सङ्घर्ष जारी राख्ने बताए ।

Advertisement
nepal life insurencenepal life insurence

सरकारी टेलिभिजनबाट प्रसारण गरिएको भाषणमा राष्ट्रपति पेजेस्कियानले इरानमाथि आक्रमण गर्ने पक्षहरूले इरानी जनतालाई झुकाउन सकिन्छ भन्ने सोच राख्नु गलत हुने टिप्पणी गरे । उनका अनुसार इरानका शत्रुहरूले ‘इरानी जनताले आफ्नो चिहानमै गएर मात्र बिना शर्त आत्मसमर्पण गर्ने इच्छा राख्नुपर्छ’ भन्ने कुरा बुझ्नुपर्ने छ ।

फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव तीव्र बनेको थियो । सो आक्रमणमा इस्लामिक गणतन्त्रका सर्वोच्च नेता आयातुल्ला अली खामेनी मारिएको बताइएको छ, जसपछि मध्यपूर्वमा व्यापक द्वन्द्व सुरु भएको हो ।

त्यसपछि इरानले प्रतिक्रिया स्वरूप क्षेत्रीय देशहरूमा रहेका इजरायली तथा अमेरिकी हितका लक्ष्यहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । ती आक्रमणहरू विशेषगरी खाडी क्षेत्रका देशहरूमा केन्द्रित रहेको बताइएको छ ।

खामेनीको हत्यापछि इरानमा अन्तरिम नेतृत्व परिषद् गठन गरिएको छ, जसमा राष्ट्रपति पेजेस्कियानले पनि सदस्यका रूपमा जिम्मेवारी सम्हालेका छन् । उक्त परिषद् तीन सदस्यीय रहेको बताइएको छ ।

यसैबीच राष्ट्रपति पेजेस्कियानले इरानका कारबाहीबाट प्रभावित छिमेकी देशहरूसँग क्षमायाचना पनि गरेका छन् । भाषणका क्रममा उनले आफ्नातर्फबाट तथा इरानको तर्फबाट ती देशहरूसँग माफी मागेको बताए ।

उनले इरानले छिमेकी देशहरूलाई लक्षित गर्ने नीति नअपनाउने स्पष्ट पारे । अन्तरिम नेतृत्व परिषद्ले यसबारे सहमति गरिसकेको भन्दै उनले अब छिमेकी राष्ट्रहरूबाट इरानमाथि आक्रमण नभएसम्म त्यस्ता देशहरूतर्फ कुनै मिसाइल प्रहार नगर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया