इन्डोनेसियामा फोहोर डम्पिङ स्थलमा पहिरो, ४ जनाको मृत्यु

इन्डोनेसियाको राजधानी जकार्तानजिकै रहेको देशकै सबैभन्दा ठूलो फोहोर डम्पिङ स्थलमा पहिरो जाँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् । उद्धारकर्मीहरूले सोमबार जानकारी दिँदै बेपत्ता व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको बताएका छन् ।
राष्ट्रिय खोज तथा उद्धार एजेन्सीका अनुसार आइतबार दिउँसो करिब २ः३० बजे जकार्ताबाट करिब २५ किलोमिटर टाढा रहेको बान्तारगेबाङ फोहोर डम्पिङ क्षेत्रमा पहिरो गएको हो । पहिरोले त्यहाँ रहेका ट्रक र सडकछेउका खाद्य पसलहरू पुरिएका छन् ।
उद्धार टोलीले अवरुद्ध क्षेत्र खोल्न भारी उपकरण प्रयोग गरिरहेको छ भने सम्भावित पीडितहरूको खोजीका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार लगातार परेको भारी वर्षापछि डम्पिङ स्थलमा पहिरो गएको हो ।
जकार्ता र आसपासका सहरहरू मिलेर बनेको जाबोडेटाबेक क्षेत्रमा करिब चार करोड २० लाख मानिस बसोबास गर्छन् र यस क्षेत्रबाट दैनिक करिब १४ हजार टन फोहोर उत्पादन हुने अनुमान गरिएको छ ।
करिब ११० हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको बान्तारगेबाङ डम्पिङ स्थलमा झण्डै पाँच करोड ५० लाख टन फोहोर थुप्रिएको बताइएको छ ।
पर्यावरणमन्त्री हनिफ फैसोल नुरोफिकले खुला फोहोर डम्पिङ स्थलमा फोहोर थुपार्न प्रतिबन्ध लगाइएको कानुन हुँदाहुँदै पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै स्थानीय प्रशासनलाई जिम्मेवार ठहर गरेका छन् । उनले यस घटनालाई गम्भीर चेतावनीका रूपमा लिनुपर्ने र जकार्तामा फोहोर व्यवस्थापन प्रणाली सुधार गर्नुपर्ने बताएका छन् ।
राष्ट्रपति प्राबोवो सुबियान्तोले पनि इन्डोनेसियाका अधिकांश फोहोर डम्पिङ स्थल सन् २०२८ सम्ममा आफ्नो क्षमता नाघ्ने अवस्थामा पुग्ने चेतावनी दिएका छन् । सरकारले आगामी दुई वर्षभित्र फोहोरबाट ऊर्जा उत्पादन गर्ने ३४ वटा परियोजना निर्माण गर्न करिब तीन अर्ब ५० करोड डलर लगानी गर्ने योजना अघि सारेको छ ।
यसअघि सन् २००५ मा पश्चिम जाभामा फोहोर डम्पिङ स्थलमा भएको पहिरोमा मिथेन ग्यास विस्फोट र भारी वर्षाका कारण १४३ जनाको ज्यान गएको थियो ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया