मंगलबार, चैत १०, २०८२

वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान

मेरोन्यूज २०८२ चैत १० गते १५:५७

वीरगञ्ज (पर्सा)। पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान वीरगञ्जदेखि सुरु गरेका छन् । होटल सङ्घ पोखराले आज यहाँ वीरगञ्जमा पोखराको पर्यटन प्रवर्द्धन गर्दै भारतीय तथा स्वदेशी पहुनालाई पोखरा भ्रमणका लागि अनुरोध गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सीमावर्ती सहर वीरगञ्जका पर्यटकलाई पोखरा तथा आसपासको सहर भ्रमण गर्न अनुरोध गरे ।

अध्यक्ष सुवेदीले पोखरामा छ खर्बको लगानीमा एक हजार २०० भन्दा धेरै होटल रहेको जानकारी दिए । “पोखरामा एकै दिन ४० हजारभन्दा धेरै पर्यटकलाई आतिथ्य सत्कार दिन सक्ने क्षमता रहेको छ,” उनले भने, “पोखरामा मनोरम दृश्य तथा प्राकृतिक सुन्दरता हेर्नका लागि पर्यटकहरुलाई निम्तो गर्दछु ।”

टान गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरालगायतका क्षेत्रमा मनोरम हिमालयनका दृश्यावलोकन र टे«किङका लागि उत्कृष्ट गन्तव्य भएकाले पनि आउनका लागि अनुरोध गरे ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले पोखरामा आतिथ्य सत्कार राम्रो भएकाले पनि सीमावर्ती सहरका पर्यटकको उत्कृष्ट गन्तव्य रहेको बताए । विगतमा मुग्लिन–पोखरा सडकखण्डको दुरावस्था भए पनि अहिले स्थलमार्ग निकै राम्रो भएकाले पनि पर्यटकको आउजाउमा सहज हुने वातावरण भएको छ ।

सङ्घका निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवालले सिमरा र पोखराबीच विगतमा भएको हवाई सेवालाई फेरि निरन्तरता दिनुपर्ने बताए ।

जाउँ है पोखरा अभियानअन्तर्गत वीरगञ्ज–विराटनगर–इलाम हुँदै हेटौँडासम्म पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया