टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने

काठमाडौँ- ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा बिस्का नखः (जात्रा) चार दिन मनाइने भएको छ । टोखा विस्केट जात्रा मूल व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी नेवार समुदायको बाहुल्य रहेको टोखामा अगामी वैशाख १ गतेदेखि ४ गतेसम्म विस्केट जात्रा मनाउन लागिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा समितिका सहसंयोजक गणेशमान श्रेष्ठले जात्रालाई व्यवस्थित र मर्यादित बनाउनका लागि शान्तिसुरक्षा, स्वयम्सेवक व्यवस्थापन, पार्किङ व्यवस्थापन, यातायात व्यवस्थापन, बाजागाजा व्यवस्थापन, रथजात्रा व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको जानकारी दिनुभयो । चैत मसान्तबाटै सुरु हुने बिस्का जात्रा मुख्यतः चार दिने मनाइने गरिन्छ । भक्तजन मसान्तको बिहान शिवपुरीस्थित बागद्वार स्नान गर्न जान्छन् ।
बागद्वारबाट सोही दिन राति चण्डेश्वरी हुँदै सपनतीर्थ मन्दिरमा आउने प्रचलन रहेको छ । सपनतीर्थ मन्दिर परिसरमा गौमुखी र बहुमुखी खोला थुनेर निर्माण गरिएको सिद्धपोखरीमा भक्तजनले नयाँ वर्ष सुरु हुँदै गर्दा वैशाख १ गते एकाबिहानै नुहाउने गर्दछन् ।
मसान्तको दिन साँझ सपनविनायकको रथ, चण्डेश्वरीको रथ र मसानकालीको रथ ‘जाली द्यो’का रूपमा बाजागाजासहित जात्रा गरी इन्द्रायणी दाफा खलःले मूल नाइके बहाल गरी रथ आ–आफ्नो मन्दिरमा लैजान्छन् । नयाँ वर्षकै दिन साँझ ६ बजे आ–आफ्नो मन्दिरबाट गाउँमा रथ ल्याउने र गाउँ परिक्रमा गरी सपनविनायकको रथ यलागः टोलमा, चण्डेश्वरीको रथ थलागः टोलमा र मसानकालीको रथ भूतखेलमा बिसाइने गरिएको छ ।
वैशाख २ गते बिहान तीन वटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएपछि बली पूजा लिई कोठु गणेश र मसानकाली दुवै रथ एकैसाथ ल्याएर ११ बजे थलागः टोलमा लस्करै बिसाइन्छ । सोही दिन अपराह्न ३ बजे जीवित गणेश कुमारीको आगमन गराई तलेजुबाट सरकारी पूजा ल्याई सिन्दूरजात्रा गरी उठाइन्छ । सोही दिन साँझ गाउँ परिक्रमा गरी साँझ ७ बजे सबै रथ तपलाक्षीःमा बिसाइन्छ । सोही रात भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।
आगमी वैशाख ३ गते बिहान ७ बजे तपलाक्षीःबाट सिन्दूरजात्रा गरी देवता उठाएर गाउँ परिक्रमा गर्न लैजाने गर्दछन् । सोही दिन बिहान ११ बजे हासल टोलमा सबै रथ बिसाइन्छ । सोही दिन अपराह्न ३ बजे तलेजु गुठीबाट जीवित गणेश कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याउनका लागि लगिन्छ । मसानकालीको मन्दिर र गाउँको परिक्रममा गरी कोनेलाक्षीःमा बिसाइन्छ ।
सोही रात पनि भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ । जात्राको अन्तिम दिन वैशाख ४ गते बिहान ६ः३० बजे सिन्दूरजात्रा गरी सारा बाजागाजासहित गाउँ परिक्रमा गर्न लगिन्छ र बिहान ११ बजेतिर गच्छे टोलमा बिसाइन्छ । सोही दिन अपराह्न ३ बजे तलेजु गुठीबाट जीवित गणेश कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सबै रथ कपडा बिच्छ्याइ गाउँ परिक्रममा गरी आ–आफ्नो देवी घरघरमा भित्र्याइन्छ ।
त्यसबाट जात्रा समापन हुन्छ । वैशाख ५ गते बिहान ६ः३० लिङ्गो ढाली जात्रा विर्सजन हुन्छ । सो अवसरमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाभित्रका ऐतिहासिक पर्वलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउनुभयो । उनले टोखाको जात्रा व्यवस्थापनका लागि नगरपालिकाले वजेट विनियोजन गरेको उल्लेख गरे । टोखाले जात्राका अवसरमा एकदिन टोखा नगरपालिकाभर र दुई दिन जात्रा लाग्ने वडा नं २ र ३ मा विदा दिने गरेको छ ।
















चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय
खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया