शनिबार, वैशाख १२, २०८३

यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

मेरोन्यूज २०८३ वैशाख ९ गते १५:०१

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनका विषयमा राजनीतिक दल र उम्मेदवारबाट अहिलेसम्म कुनै पनि गुनासो नआएको बताएका छन् । राष्ट्रिय समाचार समिति ९रासस० द्वारा तयार पारिएको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्बन्धी सम्प्रेषित समाचार सामग्रीसहितको प्रतिवेदन आज ग्रहण गर्दै उनले निर्वाचन सम्पन्न गर्न तदारुकता र इच्छाशक्तिसँगै समय र मौसमलगायत परिस्थितिले पनि साथ दिएको स्पष्ट पारे ।

Advertisement
NiccNicc

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, “प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्तादेखि मतगणनासम्मका सबै कार्यक्रम शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भयो । पुनः मतगणना, बदर र पुनः निर्वाचनको ‘सिकायत’ कहीँकतै भएन ।”

निर्वाचनका सन्दर्भमा आयोग र राससबीच अत्यन्त नजिक रहेर सहकार्य भएको प्रसङ्ग उल्लेख गर्दै कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, “नेपालको भरपर्दो समाचार सम्प्रेषण गर्ने व्यावासायिक संस्थाका रूपमा रासस रहेको छ ।” राससले निर्वाचनको माहोल सिर्जना गर्न अहम् भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले राससबाट निर्वाचनका सन्दर्भमा भएको कार्यसम्पादनप्रति आयोग सन्तुष्ट रहेको बताए ।

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नका लागि सञ्चारमाध्यमको पनि अहम भूमिका हुने भन्दै कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, “पहिलेका निर्वाचन पनि हामीले देखे भोगेकै हौँ, चुनाव भन्यो कि शान्ति सुरक्षाको कुरा आइनै हाल्छ, तर यसपटक सबैतिरबाट यस्तो वातावरण बन्न सक्यो कि चुनावका लागि बन्दुक त के लौरो उठाउनुपर्ने अवस्था पनि आएन । यसका लागि निर्वाचन आयोग सबैप्रति कृतज्ञ छ ।”

राससका अध्यक्ष उदय राना मगरले निर्वाचनका सम्बन्धमा निर्वाचन आयोग र राससबीच भएको सम्झौता र समन्वय बमोजिम नै कार्यजिम्मेवारी पूरा गरिएको जानकारी गराउँदै समाचारका माध्यमबाट निर्वाचनको वातावरण तयार पार्ने काममा राससले सकारात्मक भूमिका निर्वाह गरेको बताए ।

महाप्रबन्धक सन्दीप राईले राज्यले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने कामलाई प्रमुख प्राथमिकता दिएकाले सोही गतिका साथ राससले पनि कार्यसम्पादन गरेको चर्चा गरे ।

सो अवसरमा निर्वाचन आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा, आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई, राससका प्रबन्ध सम्पादक उत्तम सिल्वाल, निर्वाचन डेस्क प्रमुख तथा प्रमुख समाचारदाता एकराज पाठक, आलेख समाचार प्रमुख कृष्ण अधिकारी, प्रधानसम्पादक एवं प्रशासन प्रमुख शीतलप्रसाद महतो, लेखा प्रमुख रुद्रमणि अधिकारी, खोजी समाचार प्रमुख नारायणप्रसाद न्यौपानेलगायत उपस्थित थीयो ।

प्रतिक्रिया