शनिबार, वैशाख १९, २०८३

आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार

मेरोन्यूज २०८३ वैशाख १९ गते ७:३०

कालिकोट – कालिकोटकी ११ वर्षीया प्रियंका विकले आठ वर्षपछि फेरि उज्यालो संसार देख्न पाएकी छन् । बाल्यकालमा लागेको चोट (ट्रमा) का कारण दाहिने आँखाको दृष्टि गुमाएकी उनले शल्यक्रियापछि पुनः दृष्टि पाएकी हुन् ।

Advertisement
NiccNicc

आर्थिक अवस्था कमजोर, स्वास्थ्य सेवाको पहुँचबाट टाढा र अभिभावकको अभावका कारण प्रियंकाले लामो समयदेखि अन्धकारमा जीवन बिताउनु परेको थियो । उनका बुबा रोजगारीका लागि भारतमा रहेकाले समयमै उपचार गराउन परिवारलाई सहज थिएन । तर, जिल्ला आँखा उपचार केन्द्रमा हालै सञ्चालित निःशुल्क आँखा शिविर उनको जीवनमा ‘वरदान’ सावित भयो ।

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. हरि विक्रम अधिकारीको नेतृत्वमा गरिएको जटिल शल्यक्रिया सफल भएपछि प्रियंकाको आँखाको ज्योति फर्किएको हो । वैशाख १४ देखि १६ गतेसम्म सञ्चालित शिविरमा शल्यक्रियापछि पट्टी खोल्दा उनी निकै उत्साहित देखिएकी थिइन् । “फेरि उज्यालो देख्छु भन्ने कल्पना पनि गरेकी थिइनँ,” प्रियंकाले खुसी व्यक्त गरिन् ।

नेपाल नेत्रज्योति संघ कालिकोटको आयोजना तथा रिड्ली आई फाउन्डेसनको आर्थिक सहयोगमा जुम्लाको चन्दननाथ आँखा अस्पतालमा शिविर सम्पन्न भएको हो । हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुवास नेपालका अनुसार तीन दिनसम्म चलेको उक्त शिविरमा ५ सय ८४ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये १७३ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।

“कर्णालीजस्ता दुर्गम क्षेत्रमा नागरिक अझै पनि सामान्य स्वास्थ्य सेवाबाट वञ्चित छन्,” नेपालले भने, “आर्थिक अभाव र भौगोलिक विकटताका कारण वर्षौँसम्म अन्धकारमा बस्न बाध्य भएकाहरूका लागि यस्ता शिविरले ठूलो राहत पुर्‍याएको छ ।” शिविरमा आएका बिरामीहरूलाई औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले स्थापनादेखि सन् २०२५ को अन्त्यसम्ममा आफ्नो सञ्जालमार्फत ५ करोड २ लाखभन्दा बढी बिरामीलाई सेवा दिइसकेको र ५६ लाख ५९ हजारभन्दा बढीको आँखा शल्यक्रिया गरिसकेको जनाएको छ ।

प्रतिक्रिया