सोमबार, पुष १४, २०८२

एमसीसी बहस

सत्ता गठबन्धनमा फुकेन ‘एमसीसी’को गाँठो

गठबन्धन नतोड्ने, एमसीसीबारे छलफल जारी राख्ने निश्कर्ष

मेरोन्यूज २०७८ माघ १९ गते १९:४२

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्ता गठबन्धनभित्र बल्झिएको गाँठो अझै फुक्न सकेको छैन । यद्यपि सत्ता साझेदार दलहरु एमसीसीमा एक मत हुन नसकेपनि गठबन्धनलाई तत्काल नतोड्ने निश्कर्षमा प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका छन् ।

एमसीसी पास गर्न भनी अमेरिकाले अल्टिमेटम दिएपछि प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका नेताहरुलाई दबाब दिँदै आएका छन् ।
गएको शनिवार गठबन्धनको बालुवाटर बैठकमा एमसीसी पास गरेर जानुपर्ने प्रस्ताव देउवाले राखेका थिए । अमेरिकी दबाब आएको भन्दै देउवाले गरेको उक्त प्रस्तावले गठबन्धनमा मात्र होइन, राष्ट्रिय राजनीतिमै खैलाबैला मच्चिएको छ ।

संसद भित्र र बाहिरका दलहरुले एमसीसी विरुद्ध संघर्ष चर्काएपछि एमसीसीबारे खुल्न नसकेको कांग्रेसका नेताहरु पनि पछिल्लो समय एमसीसीको वकालत गर्दै आएका छन् ।

एमसीसी बहस बालुवाटार प्रवेश गरेपछि सत्ता गठबन्धनका मुख्य तीन दलका शीर्ष नेताहरुको दौडधुप चलिरहेको छ । बुधबार मात्रै पनि तीन नेताहरुबीच दुई चरणमा छलफल भए भने प्रधानमन्त्री देउवाका दूतहरुसँग पनि प्रचण्ड नेपालको छलफल भए ।

प्रधानमन्त्री देउवाका दूत बनेर सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस नेता पूर्णबहादुर खड्का प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेका थिए ।

खुमलटारमा प्रचण्ड, कार्की र खड्काको भेटपछि बालुवाटारमा बुधबार नै देउवा, प्रचण्ड र माधव नेपालबीच भेट भयो । एमसीसीको गाँठो फुकाउन भएको दिनभरीको रस्साकस्सीपछि बुधबार बेलुका पुनः तीन शीर्ष नेताहरुबीच बालुवाटरमा छलफल भएको थियो ।

बुधबार बालुवाटारमा भएको छलफलमा प्रचण्ड र नेपालले एमसीसीमा संशोधन गर्नुपर्ने अडान नछाडेपछि प्रधानमन्त्री देउवाले संशोधन गर्नुपर्ने विषय उपलब्ध गराउन आग्रह गरेका थिए ।

बुधबार बेलुका भएका तीन शीर्ष नेताबीचको छलफलमा एमसीसीबारे समान धारणा बन्न नसके पनि गठबन्धन नतोड्ने प्रतिवद्धता जनाएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

गठबन्धन नतोड्ने मात्र होइन, नेताहरुबीच एमसीसीको बहस पनि ‘क्लोज’ नगर्ने निश्कर्षमा पुगेका छन् ।

‘एमसीसीबारे दलहरूका आ–आफ्ना धारणा छन्, फरक धारणा रहने पनि भएकाले र छलफल गर्दै जाने निश्कर्ष निकालिएको छ ।’– प्रचण्डका स्वकीय सचिव मल्लले भने ।

एमसीसीका पक्षमा सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)ले भने खुला रुपमा आइसकेको छ । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी पास गरेर जानुपर्ने भनी सामाजिक सञ्जालमै लेख्दै आएका छन् ।

खासगरी सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमसीसीका विषयमा एकमत देखिएका छन् । दुई दल एमसीसी संशोधनसहित पारित गर्ने पक्षमा रहँदै आएका छन् ।

प्रतिक्रिया